काठमाडौँ । असोज २७, अबदेखि नेपालमा हुने सबै डिजिटल कारोबारको अन्तिम राफसाफ (सेटलमेन्ट) नेपाल राष्ट्र बैंकको प्रणालीमार्फत हुने भएको छ। राष्ट्र बैंकले नेसनल पेमेन्ट स्विच सम्बन्धी सन्दर्भ प्रतिवेदन सार्वजनिक गर्दै यो नयाँ प्रणाली लागू गर्नुअघि सरोकारवाला साझेदारहरूसँग सुझाव लिने प्रक्रिया अघि बढाएको हो।
हाल देशमा नेपाल पे, फोनपे, एससिटी लगायत आठ वटा भुक्तानी सेवा प्रदायक (PSP) कम्पनीहरू सक्रिय छन्, जसले आफ्नै प्रणाली मार्फत बैंकहरूसँग मिलेर कारोबारको राफसाफ गर्दै आएका छन्। तर अबदेखि यस्ता सबै कारोबारको अन्तिम सेटलमेन्ट राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (RTGS) प्रणाली मार्फत हुनेछ।
राष्ट्र बैंकका अनुसार, प्रारम्भमा डिजिटल कारोबारहरू ‘नेसनल पेमेन्ट स्विच’मार्फत राष्ट्र बैंकको प्रणालीमा प्रवेश गर्नेछन् र त्यसपछि अन्तिम सेटलमेन्ट गरिनेछ। यसले कारोबारमा पारदर्शिता ल्याउनुका साथै सटीक तथ्यांक राख्न सहयोग पुग्ने विश्वास राष्ट्र बैंकले व्यक्त गरेको छ।
हाल ‘नेशनल पेमेन्ट स्विच’ को सञ्चालन नेपाल क्लियरिङ हाउस लिमिटेडले गरिरहेको छ। यो प्रणालीबाट हाल २० लाख रुपैयाँभन्दा माथिको कारोबार गर्नुपर्ने प्रावधान छ भने न्यूनतम २ लाख रुपैयाँसम्मको कारोबार पनि गर्न सकिने व्यवस्था छ। यसभन्दा कम रकमका कारोबारका लागि अन्य भुक्तानी प्रणालीहरू यथावत् रहनेछन्।
नयाँ प्रणाली लागू भएपछि सबै एक्ए हरूबीच इंटरओपेराबिलिटी अर्थात् पारस्परिक पहुँचको सुविधा उपलब्ध हुनेछ। यसले प्रयोगकर्ताले जुनसुकै एपबाट अरू जुनसुकै प्रणालीमा सजिलै भुक्तानी गर्न सक्ने वातावरण बनाउनेछ।
राष्ट्र बैंकले सरोकारवालाबाट सुझाव संकलन गरी आवश्यक संशोधन पछि मात्र यो नयाँ प्रणाली कार्यान्वयनमा ल्याइने जनाएको छ।




.gif)





