काठमाडौँ । असोज २२, नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा एकल ग्राहकका लागि तोकिएको सीमा हटाएको छ। हालै संशोधन गरिएको एकीकृत निर्देशन, २०८१ मार्फत राष्ट्र बैंकले २५ करोड रुपैयाँको अधिकतम सीमा हटाएको हो।

यसअघि कुनै एक वा सबै इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाबाट शेयर धितोमा प्रवाह हुने मार्जिन कर्जाको अधिकतम सीमा एक व्यक्तिका लागि २५ करोड रुपैयाँ तोकिएको थियो। कर्जा प्रवाह वा नवीकरण गर्दा संस्थाहरूले उक्त सीमा ननाघेको सुनिश्चित गर्नुपर्ने कानुनी प्रावधान थियो।
शेयर लगानीकर्ताहरूले लामो समय देखि उक्त सीमा लगाउने व्यवस्थाले पूँजी बजारको विकासमा बाधा पुगेको भन्दै सीमा हटाउन माग गर्दै आएका थिए। यसै विषयमा गठित कार्यदलले पनि पूँजी बजार सुदृढीकरणका लागि उक्त सीमा हटाउने सिफारिस गरेको थियो। राष्ट्र बैंकले सोही सिफारिसलाई सम्बोधन गर्दै यो निर्णय लिएको हो।
यो निर्णय सँगै अब बैंक तथा वित्तीय संस्थाहरूले जोखिम मूल्याङ्कन र आन्तरिक नीति अनुसार शेयर धितो कर्जा प्रवाह गर्न सक्नेछन्, जसले पूँजी बजारमा तरलता अभिवृद्धि र लगानी सहजतामा टेवा पुर्याउने अपेक्षा गरिएको छ।




.gif)





