काठमाडौँ । असोज २१, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार, हाल नेपालले देशभित्रको खपत पछि दैनिक औसतमा एक हजार मेगावाट विद्युत् निर्यात गर्दै आएको छ। चालु आर्थिक वर्ष २०८२।८३ को साउन महिना देखि हालसम्म करिब १५ अर्ब रूपैयाँ बराबरको विद्युत् विदेशमा बिक्री भइसकेको छ।
प्राधिकरणले भारतको ऊर्जा एक्सचेन्जको डे–अहेड तथा रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा विद्युत् बेचिरहेको छ। साथै, दुई पक्षीय सम्झौता मार्फत भारतका हरियाणा र बिहार राज्यहरूमा पनि मध्यकालीन अवधिको विद्युत् बिक्री भइरहेको छ।
विद्युत् व्यापार भारतसँग भारतीय रूपैयाँ (भारू) मा र बंगलादेशसँग अमेरिकी डलरमा हुने व्यवस्था गरिएको छ। भारतको प्रसारण संरचना प्रयोग गरेर बंगलादेशमा दैनिक ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ।
हालसम्म नेपालले भारत र बंगलादेश गरी ११६५ मेगावाट विद्युत् निर्यातको स्वीकृति प्राप्त गरिसकेको छ। यसले नेपालको जलविद्युत् सम्भावनाको उपयोगमार्फत विदेशी मुद्रामा आम्दानी बढाएको छ।




.gif)





