काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना सम्पूर्ण खातावालाहरुलाई आफ्नो खातामा उल्लेखित स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ। बैंकले जारी गरेको सूचनामा आयकर ऐन २०५८ अनुसार नेपाल सरकार, अर्थ मन्त्रालयको आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको प्यान प्रणालीमा सबै ग्राहकहरूलाई आबद्ध हुनुपर्ने भएकाले यो कदम चालिएको उल्लेख छ।
ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट वा मोबाइल बैंकिङ एपमा रहेको प्यान अपडेटु ट्याब मार्फत सजिलै आफ्नो प्यान नम्बर अद्यावधिक गर्न सक्ने व्यवस्था बैंकले गरेको छ। साथै, ग्राहकहरूले नजिकैको कुनै पनि शाखा कार्यालयमा गएर पनि प्यान नम्बर अद्यावधिक गर्न आवेदन दिन सक्ने बैंकको व्यवस्था रहेको जनाएको छ।
बैंकका अनुसार, निक्षेपकर्ताहरूलाई ब्याज भुक्तानी गर्दा लागू हुने कर कट्टी (ई टीडीएस) को रेकर्डमा प्यान नम्बर अत्यावश्यक हुन्छ। प्यान अद्यावधिक भएपछि ग्राहकहरूको कर कट्टीको विवरण सो नम्बरबाट प्रविष्ट हुने हुँदा, आयकर प्रणालीले स्वचालित रुपमा कर विवरण मिलान गर्नेछ।
यसले ग्राहकहरूलाई कर कट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज बनाउने तथा प्रमाणपत्र प्राप्त गर्न बैंकसम्म बारम्बार जानुपर्ने झन्झट पनि हटाउने बैंकको भनाइ छ। यदि ग्राहकले प्यान अद्यावधिक नगरेको कारणले ई टीडीएस ब्याज कर दाखिला नभएमा वा पछि ब्याज करमा समायोजन आवश्यक परेमा बैंक जिम्मेवार नहुने पनि स्पष्ट पारिएको छ।




.gif)





