काठमाडौँ । असोज ११, दशैं–तिहारको पूर्वसन्ध्यामा शिक्षकहरूको तलब नपाएको गुनासो चुलिँदै जाँदा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सम्बन्धित निकायलाई कडा चेतावनी दिएका छन्।
पहिलो सामाजिक सञ्जाल पोस्टमार्फत उनले शिक्षकको तलब नदिने प्रधानाध्यापकलाई कारबाही गर्ने चेतावनी दिएका थिए। तर, शिक्षकहरूको तलब विद्यालयबाट होइन, स्थानीय तह (पालिका)बाट निकासा हुने प्रक्रिया भन्ने तथ्यका आधारमा चौतर्फी आलोचना भएपछि मन्त्री पुनले आफ्नो स्टाटस सच्याएका छन्।
सच्याइएको दोस्रो स्टाटसमा उनले शिक्षा मन्त्रालयले दशैंअघि नै शिक्षकहरूको तलब सम्बन्धित पालिकामा पठाइसकेको उल्लेख गर्दै, तलब जानाजान रोक्ने पालिकाहरूलाई नियमानुसार कारबाही गरिने चेतावनी दिएका छन्।
आईतबारसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरूको तलब निकासा नगरेमा ती पालिकालाई कारबाही गरिनेछ, मन्त्री पुनले स्पष्ट पारेका छन्।
उनका अनुसार केही विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूले पालिकाले तलब निकासा नगरेको गुनासो गरेका थिए। मन्त्रालयले तलब समयमै पठाएको भए पनि पालिकाले त्यो रकम निकासा नगरेको भन्दै मन्त्री पुनले आपत्ति जनाएका हुन्।
यस घटनाले शिक्षकहरूको तलब वितरण प्रणालीमा अझ स्पष्टता र पारदर्शिताको खाँचो देखाएको छ। साथै, मन्त्री पुनको प्रारम्भिक अभिव्यक्तिले सरकारी संयन्त्रको प्रक्रियागत ज्ञानप्रति पनि प्रश्न उठाएको देखिन्छ।




.gif)





