काठमाडौँ । असोज ११,सवारी चालक अनुमतिपत्र (लाइसेन्स) तथा सवारी साधन दर्ता सम्बन्धी सम्पूर्ण सेवा हाललाई बन्द गरिएको छ।
यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा विभाग अन्तर्गत सञ्चालनमा रहेको सूचना प्रविधि प्रणाली (आईटी सिस्टम) राखिएको डाटा सेन्टरमा आगजनी भएको जानकारी दिएको छ। सोही कारणले सेवा अवरुद्ध भएको विभागले जनाएको हो।
विभागका अनुसार, डाटा सेन्टरमा क्षति पुगेपछि सर्भर पूर्णरूपमा काम गर्न सकेको छैन। अहिले सर्भर मर्मत तथा पुनः सञ्चालनको काम तीव्र रूपमा भइरहेको छ।
“हाल सवारी चालक अनुमति पत्र तथा सवारी साधन दर्तासम्बन्धी सेवा सुचारु हुन नसक्ने भएकाले अर्को सूचना प्रकाशित नहुञ्जेल सम्मका लागि सबै सेवा बन्द गरिएको छ,” सूचनामा उल्लेख गरिएको छ।
विभागले सेवाग्राहीहरूलाई असुविधा नपरोस् भनी यथासक्य छिटो सेवा पुनः सञ्चालन गर्ने प्रयास भइरहेको पनि जनाएको छ।
सेवा सुचारु हुने मिति अर्को सूचना मार्फत सार्वजनिक गरिनेछ।




.gif)





