images

२०८३ आश्विन १७ गते

images
images
images

शिक्षा मन्त्रीका आठबुँदे निर्देशन कार्यान्वयन सुरु

शिक्षा मन्त्रीका आठबुँदे निर्देशन कार्यान्वयन सुरु

images
images
शुक्रवार, आश्विन १० २०८२
शुक्रवार, आश्विन १० २०८२
  • काठमाडौँ । असोज १०, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनद्वारा जारी आठबुँदे निर्देशन कार्यान्वयनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले आवश्यक तयारी थालिएको जनाएको छ।

    images
    images

    परिषद्का अध्यक्ष समेत रहेका मन्त्री पुनले मौजुदा पाठ्यक्रममा सुधार गरी नवप्रवर्तन समावेश गर्न, परीक्षाफल प्रकाशनमा समयसीमा तोक्न, सम्बन्धन प्रक्रिया टुंग्याउन तथा गुनासो सम्बोधन प्रणाली निर्माण गर्न निर्देशन दिएका थिए।

    पाठ्यक्रम सुधार सहित नवप्रवर्तनयुक्त खाका असोज मसान्त भित्र पेश गर्नुपर्ने, परीक्षाको नतिजा अनिवार्य रूपमा तीन महिना भित्र प्रकाशन गर्नुपर्ने र एकीकृत वार्षिक क्यालेन्डर तयार पार्नुपर्ने उनको निर्देशनमा उल्लेख छ।

    images
    images

    साथै, विद्यार्थी, अभिभावक र शिक्षकहरूको गुनासो सुन्ने र समाधान गर्न छुट्टै शाखा स्थापना गर्न पनि भनिएको छ। मन्त्री पुनले २०६९ सालदेखि प्राप्त भएका सम्पूर्ण सम्बन्धन आवेदनहरूको अध्ययन गरी असोज मसान्तभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन्।

    परिषद्का सदस्य–सचिव ई.महेश भट्टराईका अनुसार करिब ५०० संस्थाको सम्बन्धन आवेदन हाल विचाराधीन अवस्थामा छन्। “केही आवेदनमा भर्नाको चाप छैन तर पनि सम्बन्धन मागिएको छ,” उनले बताए, “संस्था सञ्चालनका लागि सामाजिक तथा आर्थिक स्पष्टता आवश्यक छ। मन्त्रीको निर्देशन अनुसार निर्णय प्रक्रिया अघि बढाइएको छ।”

    सम्बन्धन प्रक्रियामा लामो समय देखिको अन्योलले लगानी गरेका संस्थाहरू मर्कामा परेको गुनासो गर्दै आएका थिए। यसअघि निवर्तमान मन्त्री रघुजी पन्तका पालामा अध्ययन प्रक्रिया अघि बढाइएको थियो। नयाँ मन्त्रीको निर्देशन पछि त्यसको निरन्तरता दिइँदै निष्कर्षमा पुर्‍याइने परिषद्का प्रवक्ता टैलेन्द्र आचार्यले बताए।

    हाल परिषद् मातहत ६७ आङ्गिक, ५६ साझेदार शिक्षालयसहित ६३९ सामुदायिक र ४२१ निजी प्राविधिक शिक्षण संस्था सञ्चालनमा छन्। कृषि, इञ्जिनियरिङ, स्वास्थ्य, होटल व्यवस्थापन जस्ता क्षेत्रमा डिप्लोमा तथा प्रि–डिप्लोमा कार्यक्रमहरू सञ्चालित छन्। छोटो अवधि तालिमका लागि १,८५० निजी संस्थाले अनुमति लिएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend