काठमाडौँ । असोज ७, लगातारको वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्ड सोमबार साँझदेखि पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा आएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार तुइन खोलामा खसेको पहिरो पूर्णरूपमा हटाएपछि सोमबार साँझ ५ः३० बजेदेखि सवारीसाधनको दुईतर्फी आवागमन सम्भव भएको हो। यस अघि शुक्रबार देखि पूर्णरूपमा अवरुद्ध बनेको सडक आइतबार अपराह्न देखि एकतर्फी रूपमा सञ्चालनमा आएको थियो। तर, आइतबार राति पहिरो खस्ने सम्भावना भएकाले सवारी सञ्चालनमा रोक लगाइएको थियो।
सोमबार बिहान देखि दिउँसो १ः०० बजेसम्म एकतर्फी रूपमा सवारी चलाइएको थियो। दिउँसोको समयमा सवारी आवागमन बन्द गरेर पहिरो हटाउने कार्य तीव्र पारिएको थियो।
सडक अवरुद्ध हुँदा दसैँको अवसरमा घर फर्किरहेका यात्रुहरू बाटोमै अलपत्र परेका थिए। पहिरो हटेसँगै सडक सञ्चालनमा आएपछि उनीहरूलाई गन्तव्यतर्फ जान सहज भएको छ।




.gif)





