काठमाडौँ । असोज ४, गोरखा प्रहरीले विभिन्न कारागारबाट फरार रहेका ११ जना कैदीबन्दीलाई पक्राउ गरेको छ।
पक्राउ परेकाहरूमा कास्की कारागारबाट भागेका ६ जना, केन्द्रीय कारागारबाट २ जना, तनहुँ कारागारबाट २ जना तथा बालसुधार गृह भक्तपुरबाट फरार १ जना रहेका छन्।
तनहुँ कारागारबाट फरार भएका सिरानचोक–४ का भरत ठकुरी, केन्द्रीय कारागारबाट फरार धादिङको धुनवेशी–२ का भुवन तामाङ र बाल सुधार गृह भक्तपुरबाट फरार गोरखा नगरपालिका–९ की सुस्मा मग्रातीलाई प्रहरीले पक्राउ गरेको हो। ठकुरी जबर्जस्ती करणी अभियोगमा तनहुँ कारागारमा थिए भने तामाङ र मग्राती मानव बेचबिखन मुद्दामा सजाय भोग्दै थिए।
त्यसैगरी, केन्द्रीय कारागारबाट भागेका धनकुटाका सुमन सुन्दास र कास्की कारागारबाट फरार पालुङटार–२ का बाबुराम नेपालीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै जना जबर्जस्ती करणी मुद्दाका कैदी हुन्।
गोरखाको चुमनुव्री–६ चुम्चेत घर भएका सोनम दोर्जे लामा, छेवाङ लामा, सोनम ग्याल्जेन लामा, तेन्जिङ लामा र भिमसेन थापा–१ मसेलका राजेश सुनारलाई पनि पक्राउ गरिएको छ। उनीहरू पाँचै जना कर्तव्य ज्यान अभियोगमा कास्की कारागारमा रहेका थिए र भदौ २४ गते फरार भएका थिए।
त्यस्तै, चोरी मुद्दामा तनहुँ कारागारमा रहेका सिरानचोक गाउँपालिका–८ का विशाल उपरकोटीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक सरोज कार्कीले जानकारी दिए।
यसअघि पनि गोरखा प्रहरीले विभिन्न कारागारबाट भागेका ८ जनालाई पक्राउ गरिसकेको छ। प्रहरीका अनुसार कैदीबन्दीहरूको खोजी तथा निगरानीलाई अझ प्रभावकारी बनाइएको छ।




.gif)





