काठमाडौँ । भदौ २३, काठमाडौँ सहित देशभर सवारी साधनको संख्या तीव्र रूपमा बढ्दै गएको छ। यातायात व्यवस्था विभागका अनुसार, हालसम्म देशभर ५८ लाख ५० हजारभन्दा बढी सवारी साधन दर्ता भइसकेका छन्।

विभागका तथ्यांक अनुसार, आर्थिक वर्ष २०८१।८२ सम्ममा दर्ता गरिएका सवारी मध्ये सबैभन्दा ठूलो हिस्सामा मोटरसाइकल रहेको छ। हालसम्म देशभर ४७ लाख ४४ हजार ७२ मोटरसाइकल दर्ता भएका छन्।
त्यस्तै, ३ लाख ६६ हजार ७ सय २३ कार, जिप र ट्याक्सी, ७१ हजार ५ सय ७७ बस, ४१ हजार ९ सय ८६ मिनिबस वा ट्रक, र ९१ हजार ४ सय ८३ पिकअप गाडी सञ्चालनमा छन्। यस्तै, १ लाख २९ हजार १ सय १९ भारी सवारी ९क्रेन, डोजर, एक्जाभेटर, लोडर, रोलर०, १ लाख ११ हजार ३ सय ५२ टेम्पो, १२ हजार ५ सय ७५ माइक्रोबस, १ लाख ९० हजार ६४ ट्याक्टर, र ७३ हजार ६ सय ६ ई–रिक्सा दर्ता गरिएका छन्। अन्य सवारी साधनको संख्या १७ हजार ८ सय ७५ रहेको छ।
नेपालमा सवारी साधनको संख्या बहुदलीय प्रजातन्त्र पुनःस्थापना भएको सन् १९९० (वि.सं. २०४६।४७) यता झण्डै आठगुना बढेको देखिन्छ। त्यतिबेला देशभर जम्मा ७६ हजार ३ सय ७८ सवारी साधन मात्र थिए।
गत आर्थिक वर्ष २०८१।८२ मा मात्रै २ लाख ४२ हजार ४ सय ४१ नयाँ सवारी साधन दर्ता भएका छन्। तीमध्ये १ लाख ९६ हजार २ सय ११ मोटरसाइकल, १५ हजार ९९ कार, र २ हजार ५८८ बस रहेका छन्।
विशेषज्ञहरूका अनुसार, सवारीको यो तीव्र वृद्धिले शहर तथा सडकहरूमा यातायात व्यवस्थापनमा थप चुनौती ल्याउने देखिएको छ। काठमाडौंजस्ता शहरमा ट्राफिक जामको समस्या दिनदिनै गम्भीर बन्दै गएको छ।




.gif)





