काठमाडौँ । भदौ २१ , तनहुँ जिल्लामा ठुलो संख्यामा विद्यार्थीहरूले माध्यामिक तहसम्मको अध्ययन पुरा नगरी विद्यालय छाड्ने गरेको तथ्याङ्कले देखाएको छ। शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका प्रमुख कृष्णप्रसाद श्रेष्ठका अनुसार कक्षा १ मा भर्ना भएका मध्ये करिब ५८ प्रतिशत विद्यार्थी कक्षा १२ सम्म आइपुग्दा पढाइबीचमै विद्यालय छाड्ने गरेका छन्।
कृष्णप्रसाद श्रेष्ठका अनुसार हाल कक्षा १२ सम्म केवल ४१.९ प्रतिशत विद्यार्थी मात्र निरन्तर रूपमा अध्ययनमा टिकिरहेका छन्। छात्र र छात्रा दुबैको पढाइ छाड्ने दर उच्च रहेको छ। छात्रमध्ये ५७ प्रतिशत र छात्रामध्ये ५७.९ प्रतिशतले अध्ययन अधुरै छाड्ने गरेको पाइएको छ।
श्रेणीगत रूपमा हेर्दा, कक्षा १–५ सम्म भर्ना हुने विद्यार्थीको दर ९४ प्रतिशत भए पनि, कक्षा ६–८ मा घटेर ९३.३ प्रतिशत, कक्षा ९–१० मा ७१.६ प्रतिशत रहन्छ। यस्तै कक्षा ११–१२ सम्म आइपुग्दा मात्र ४१.९ प्रतिशत विद्यार्थी मात्र विद्यालयमा टिक्न सकेका छन्।
विद्यालय छोड्नुका मुख्य कारणहरूमा स्वदेशमा रोजगारीको अवसरको कमी, अभिभावकले अध्ययनका लागि आर्थिक भार धान्न नसक्नु, गुणस्तरीय शिक्षाको पहुँच अभाव, र किशोरावस्थामा पर्ने आर्थिक तथा सामाजिक दबाब रहेका छन्। इकाइ प्रमुख श्रेष्ठका अनुसार अध्ययन वातावरणको कमी र मार्गदर्शनको अभावले पनि विद्यार्थीहरू विद्यालयमा नटिक्ने अवस्था देखिएको छ।
अभिभावकको भूमिका निर्णायक, ब्यास नगरपालिकाका सूचना अधिकारी तथा शिक्षा शाखा प्रमुख केदारराज आचार्यका अनुसार विद्यार्थीको शिक्षामा टिकाइ बढाउन अभिभावक र विद्यालयबीच बलियो साझेदारी आवश्यक छ। ‘‘अभिभावक–विद्यालय सहकार्य बलियो भएमा मात्र विद्यार्थीहरूलाई विद्यालयमा टिकाउन सकिन्छ,’’ उहाँले भन्नुभयो।
आचार्यका अनुसार शिक्षा सुधारका लागि नीतिगत परिवर्तन मात्र हैन, व्यवहारिक पहल आवश्यक छ। ‘‘शिक्षा अभियान्ताहरूले मात्र कुरा गरेर हुँदैन, कार्यान्वयनमा देखिने सुधारको खाँचो छ,’’ उहाँले स्पष्ट पार्नुभयो।
उहाँले गुणस्तरीय शिक्षकको परिचालन, अतिरिक्त अध्ययन कक्षाको व्यवस्था, नैतिक मार्गदर्शन तथा छात्रवृत्ति कार्यक्रम विस्तारजस्ता उपायहरू अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो।
दीर्घकालीन सुधारका लागि सहकार्य अनिवार्य, शिक्षा क्षेत्रको दीर्घकालीन सुधारका लागि विद्यालय, अभिभावक र सरकारी निकायबीच समन्वय र सहकार्य अनिवार्य भएको शिक्षा विज्ञहरूको धारणा छ। योजनाबद्ध र संयुक्त प्रयास मार्फत मात्र विद्यार्थीको विद्यालयमा टिकाइ बढाउन सकिने देखिन्छ।




.gif)





