images

२०८३ आश्विन १६ गते

images
images
images

मौरीपालन व्यवसायमा ६० वर्षीय दीपकुमार

मौरीपालन व्यवसायमा ६० वर्षीय दीपकुमार

images
images
शुक्रवार, भाद्र २० २०८२
शुक्रवार, भाद्र २० २०८२
  • उमेरले ६० वर्ष पुग्नुभएका दीपकुमार मगरको मुख्य पेसा मौरीपालन हो । विगत दुई दशकभन्दा बढीदेखि उहाँको दैनिकी मौरीको हेरचाहमै बित्ने गरेको छ । त्यसबाट आम्दानी पनि राम्रो हुँदै गएको उहाँ बताउनुहुन्छ । जिल्लाको घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुर निवासी मगर विगत २५ वर्षदेखि यही व्यवसायमै हुनुहुन्छ । मौरीले राम्रै आम्दानी दिँदै आएकाले मौरीपालन व्यवसायमा उत्साह बढ्दै गएको मगरले बताउनुभयो । “मैले व्यावसायिक रुपमा मौरीपालन गर्न थालेको २५ वर्ष भयो”, उहाँले भन्नुभयो, “लामो समय भइसक्यो मौरीपालन गर्न थालेको आम्दानी पनि राम्रो भइरहको छ, यसमा घर परिवारको पनि सहयोग रहेको छ ।” 

    images
    images

    उहाँले मौरीपालन पूर्वाधार सामग्री उत्पादनमार्फत पनि व्यवसायका लागि आवश्यक सामग्री उत्पादन गरि छिमेकी जिल्ला रोल्पा, सल्यान, प्यूठानलगायत जिल्लामा आधुनिक प्रकारका सामग्री पठाउने गर्नुहुन्छ । मौरीपालन गर्दै आउनुभएका किसान मगर आजभोलि पनि पूर्वाधार सामग्री उत्पादनमै व्यस्त हुनुहुन्छ । विभिन्न ठाउँबाट माग आइरहेकाले पनि उत्पादन गर्दै आएको उहाँ बताउनुहुन्छ ।

    मगरको मौरी फार्ममा २०० घार क्षमताको भए पनि हाल भने १०० मौरीसहितका घार छन् । उहाँले वर्षमा ३५ क्विन्टल मह उत्पादन हुँदै आएको बताउनुभयो । “परिवारको सहयोग छ, आफैँ सुरुआतमा रोल्पा हुँदा मौरीपालन तालिम लिएपछि व्यावसायिक मौरीपालनमा लागेको हुँ, अहिले उत्पादन भएको मह केही बिक्रीका लागि जिल्लाका बजार र अन्यत्र जान्छ, धेरैजसोले घरमै आएर पनि लैजान्छन्”, किसान मगरले भन्नुभयो, “मौरीपालनमा चोखो आम्दानी छ, त्यसैले विगत लामो समयदेखि यसैलाई निरन्तरता दिँदै आएको छु ।”अहिले उहाँको फार्ममा युरोपिय, इटालिएन, मेरीफेरा, सेरेना जातका मौरीका घार छन् । परिश्रम र मेहनत गर्ने हो भने गाउँमै बसेर पनि राम्रो आम्दानी गर्न सकिने उहाँको भनाइ छ । मौरीपालन व्यवसायबाट उहाँ वार्षिक रु १२ लाख आम्दानी गर्न सफल हुनुभएको छ । 

    images
    images

    दुई÷तीन वर्ष वैदेशिक रोजगार रहँदासमेत मगरले विदेशमा पनि मौरीपालन गरेको देख्दा आफूले पनि यहाँ यही व्यवसाय थालेको बताउनुभयो । उहाँ २०५७ सालदेखि सुरु गर्दा जिल्लामा व्यावसायिक रुपमा मौरीपालन गर्ने किसानको सङ्ख्या जम्मा १७ जना रहेको स्मरण गर्नुहुन्छ । वर्षाको समय र अत्यधिक चिसो हुने समयमा ख्याल गर्ने हो भने मौरीपालनबाट राम्रो प्रतिफल लिन सकिने भन्दै उहाँले मह उत्पादन र घार वृद्धि पनि सँगसँगै बढाउँदै लगेको बताउनुभयो । मौरीपालन व्यवसाय व्यावसायिक रुपमा सुरु गरेदेखि हालसम्म आम्दानीका लागि अन्य कुनै पनि स्रोत खोज्न नपरेको उहाँको अनुभव छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend