काठमाडौँ । भदौ १५, वैदिक सनातन धर्मावलम्बीहरूले आज भाद्र शुक्ल अष्टमीदेखि १६ दिन लामो महालक्ष्मी व्रत आरम्भ गरेका छन्। धन, वैभव र सुख–शान्तिको प्राप्तिका लागि गरिने यस व्रतलाई विशेष धार्मिक महत्वका साथ लिइन्छ।
धार्मिक शास्त्रअनुसार, आजदेखि आश्विन कृष्ण सप्तमीसम्म, अर्थात् यस वर्ष भदौ २४ गते बुधबार सम्म महालक्ष्मी व्रत गरिनेछ। व्रत अवधिभर व्रतीले ब्रह्मचर्य पालना गर्नुका साथै भूमिमा सुतेर, हविष्य भोजन (फलाहार) गरेर व्रत गर्नुपर्ने परम्परा छ। दिनमा एकपटक मात्रै नुन खान पाइने नियम रहेको छ।
व्रत अवधिभर हरेक दिन बेलुकी चन्द्रमालाई अर्घ्य दिइने परम्परा रहिआएको छ। यसरी व्रत गरेमा घरमा महालक्ष्मीको वास हुने, दारिद्रय हट्ने र सुख–शान्ति प्राप्त हुने धार्मिक विश्वास रहेको छ। विशेष गरी महिलाहरूले यो व्रत श्रद्धापूर्वक गर्ने चलन छ।
वाल्मीकि विद्यापीठका उप–प्राध्यापक चिन्तामणि भट्टराईका अनुसार, महालक्ष्मी व्रतको महत्व भगवान् शंकरले पार्वतीलाई बताएको शास्त्रीय उल्लेखहरूमा पाइन्छ। व्रतले मृत्युपछि दिव्यधाम प्राप्त हुने र ‘अलक्ष्मी’ अर्थात् अशुभता हटाउने विश्वास छ।
देवराज इन्द्रले पनि महालक्ष्मीको पूजा गरी ‘महालक्ष्मी अष्टकम्’ स्तोत्र रचना गरेका थिए। उक्त अष्टकम् स्तोत्र बिहान, दिउँसो र साँझ तीनपटक पाठ गरेमा धन–धान्य, सुख, वैभव र शत्रु नाश हुने भनिन्छ।
प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीदेखि आश्विन कृष्ण सप्तमीसम्म १६ दिन, त्यसपछि आश्विन शुक्ल पूर्णिमा र कार्तिक कृष्ण अमावस्याका दिन समेत विशेष रूपमा महालक्ष्मीको पूजा गरिन्छ। दशैंको समयमा पनि महाकाली र महासरस्वती सँगै महालक्ष्मीको पूजा गरिन्छ।




.gif)





