काठमाडौँ । भदौ १३, काठमाडौँको जीवन्त पर्व इन्द्रजात्राको मूर्त तथा अमूर्त सम्पदाको औपचारिक अभिलेखीकरण गरिएको छ। काठमाडौँ महानगरपालिका–२३ को लगानीमा विज्ञ टोलीद्वारा गरिएको अध्ययनपछि तयार पारिएको यो अभिलेखीकरण दस्तावेज आज हनुमानढोका दरबार संग्रहालयमा एक समारोहबीच विमोचन गरिएको हो।
उक्त समारोहमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले सम्पदाको संरक्षण भावी पुस्ताका लागि अनिवार्य भएको बताउँदै महानगरले सम्पदा संरक्षणमा निरन्तर काम गरिरहेको जानकारी दिइन्। उनले इन्द्रजात्राको अभिलेखीकरण दस्तावेजलाई सम्पदा संरक्षणको एउटा नमूना प्रयासको रूपमा व्याख्या गरिन्।
काठमाडौँ महानगरपालिका–२३ का अध्यक्ष मचाराजा महर्जनले इन्द्रजात्रा अन्तरराष्ट्रियकरणतर्फ उन्मुख भएसँगै हराउँदै गएका परम्पराहरूको संरक्षणका लागि यो अभिलेखीकरण महत्त्वपूर्ण भएको बताए। उनले भने, “विगतमा चलेका तर अहिले हराएका परम्परा, संस्कार र गतिविधिहरू यस अध्ययनमार्फत उजागर भएका छन्। अब भावी पुस्ताले यी सम्पदालाई अभिलेख मार्फत बुझ्न सक्नेछन्।”
उनका अनुसार रथयात्रा र लाखे नाच मात्र बाँकी रहने चिन्ता बीच यो प्रयास गरिएको हो। महानगरपालिकाले अघिल्लो वर्ष देखि नै यस्ता सम्पदाहरूको संरक्षणलाई नीति तथा कार्यक्रममा समेटी बजेट विनियोजन गर्दै आएको छ। यो अभियान भविष्यमा पनि निरन्तर जारी रहने अध्यक्ष महर्जनले बताए।




.gif)





