काठमाडौं । भाद्र १३, शेष घले संयोजकत्वमा गठित उच्चस्तरीय समितिले सर्वोच्च अदालतको परमादेश अनुसार एकताको महाधिवेशन सम्पन्न गरेपछि महेश श्रेष्ठ नेतृत्वको नयाँ कार्यसमितिलाई ८३ लाख ६२ हजार २ सय २८ रुपैयाँ नगद सहित जिन्सी सम्पत्ति औपचारिक रूपमा हस्तान्तरण गरेको छ।
राजधानी काठमाडौंमा शुक्रबार आयोजित विशेष समारोह मार्फत उक्त हस्तान्तरण सम्पन्न भएको हो। कार्यक्रममा विश्वभरबाट प्रवासी नेपालीहरू भर्चुअल रूपमा सहभागी भएका थिए।
सम्बोधनका क्रममा शेष घलेले एनआरएनएलाई विश्वभर छरिएर रहेका नेपालीहरूको साझा परिवारको रूपमा परिभाषित गर्दै संगठनलाई पारदर्शिता र विश्वासका आधारमा अघि बढाउनु पर्नेमा जोड दिए। “नयाँ नेतृत्व सक्षम छ, अब यसलाई अझ प्रभावकारी बनाउने जिम्मेवारी उनीहरूको हो,” उनले भने।
समितिकी सदस्य जानकी गुरुङले वैशाखमा सम्पन्न निर्वाचन पश्चात् समितिले ८३ लाख भन्दा बढी नगद रकम बचत गरेको जानकारी दिँदै उक्त सम्पत्ति कम्प्युटर, प्रिन्टर जस्ता जिन्सी सामग्री सहित नयाँ नेतृत्वलाई जिम्मा लगाइएको बताइन्।
भौतिक रूपमा समारोहमा उपस्थित एनआरएनए अध्यक्ष महेश श्रेष्ठले विगतका चुनौती र विवादहरूको स्मरण गर्दै सबै पक्षलाई एकताको भावना सहित अघि बढ्न आह्वान गरे। उनले दोहोरो नेतृत्वको अन्त्य भएको स्पष्ट पार्दै बद्री केसी पक्षले घोषणा गरेको अक्टोबर महाधिवेशन अब नहुने दाबी गरे।
पूर्वअध्यक्ष कुल आचार्यले एकीकृत एनआरएनए बाहेक विकल्प नभएको बताए। उनले आफू एनआरएनए नागरिकता पाउने पहिलो व्यक्ति भएको उल्लेख गर्दै नागरिकता कार्यान्वयन, श्रमिक अधिकार, लगानी प्रबर्द्धन जस्ता विषयमा अब सबै एक भएर अघि बढ्नुपर्ने धारणा राखे।
नवनिर्वाचित उपाध्यक्ष, महासचिव र अन्य पदाधिकारीहरूले पनि संगठनलाई सहकार्य र साझेदारीको माध्यमबाट अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै प्रवासी नेपालीका हक–अधिकार सुनिश्चित गर्ने विषयलाई प्राथमिकता दिने बताए।
कार्यक्रममा देवमान हिराचन, विनोद कुँवर, आरके शर्मा, चिन्तामणि सापकोटा, ठाकुर ढुंगाना लगायत पदाधिकारी तथा अगुवाहरूको समेत उल्लेखनीय उपस्थिति रह्यो।
यो समारोहले एनआरएनएको नेतृत्वमा देखिएको द्वन्द्वको समापन गर्दै नयाँ युगको सुरुवात गरेको सन्देश दिएको सहभागीहरूको धारणा थियो।




.gif)





