काठमाडौँ । भदौ १०, अस्ट्रेलियामा जारी टी–२० अभ्यास शृंखलामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै अस्ट्रेलियन क्रिकेट टेरिटरी (एसीटी)लाई ४१ रनले पराजित गरेको छ।
मंगलबार सम्पन्न पहिलो अभ्यास खेलमा नेपालले दिएको १७८ रनको लक्ष्य पछ्याएको एसीटी १७.२ ओभरमा १३६ रनमै अलआउट भयो। नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिए। करण केसीले २ विकेट र रुपेश सिंहले १ विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रन बनायो। नेपालका लागि ओपनर आसिफ शेखले ६९ रनको विस्फोटक इनिङ्स खेले भने कप्तान रोहित पौडेलले ३६ र आरिफ शेखले २४ रनको योगदान दिए।
एसीटीका बलरमध्ये इभान्स, दुबे, रहमान र ब्रुनकरले २।२ विकेट लिए। ब्याटिङतर्फ स्मिथले सर्वाधिक ५० रन बनाए।
५ खेलको अभ्यास शृंखला अन्तर्गत नेपाल आजै दोस्रो टी–२० खेल खेल्दैछ। यसअघि सम्पन्न टप इन्ड टी–२० शृंखलामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो। आगामी आईसीसी टी–२० विश्वकप छनोटको तयारीस्वरूप नेपालले अस्ट्रेलियामा अभ्यास खेलहरू खेलिरहेको हो।




.gif)





