काठमाडौं । भदौ ८, श्री महाङ्कालेश्वरी माध्यमिक विद्यालयका ७ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ। विगत ३ वर्ष देखि निरन्तर रूपमा विद्यालयका पूर्व विद्यार्थीहरूको समुहले यी विद्यार्थीहरूको कक्षा १२ सम्मको सम्पूर्ण शैक्षिक खर्च बेहोर्दै आएको छ।
उक्त समुहका सचिव दयाराम कार्कीका अनुसार, यो पहल विद्यालय प्रतिको स्नेह र सामाजिक उत्तरदायित्वको भावना अन्तर्गत गरिएको हो। यसै सन्दर्भमा, यस वर्ष पनि ती विद्यार्थीहरूको एक वर्षको सम्पूर्ण खर्चको चेक अभिभावकलाई हस्तान्तरण गरिनुका साथै विद्यार्थीहरूलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको किवानिज क्लब अफ काठमाडौं सारथीका अध्यक्ष रामराजा थापाले जानकारी दिनुभयो।
विद्यालयमा आयोजित विशेष कार्यक्रम मार्फत छात्रवृत्ति वितरण गरियो। सो कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी तथा उक्त कार्यक्रमका पहलकर्ता दयाराम कार्कीले विगत देखि नै स्टेशनरी, विद्यालय पोशाक, झोला लगायत सामग्री वितरण गर्दै आइरहेको र विद्यार्थीहरूको स्वास्थ्य परीक्षणसमेत गरिँदै आएको जानकारी दिनुभयो।
कार्यक्रममा किवानिज चिल्ड्रेन्स फण्ड, किवानिज क्लब अफ काठमाडौँ सारथी तथा अन्य सहयोगी संस्थाहरूलाई विद्यालय परिवारको तर्फबाट सम्मान तथा आभार प्रकट गरिएको थियो। विद्यालयका प्रधानाध्यापक मुकुन्द थापाले आगामी दिनमा थप विद्यार्थीलाई पनि छात्रवृत्ति उपलब्ध गराउने आशा व्यक्त गर्दै सहयोगी सबै पक्षप्रति धन्यवाद व्यक्त गर्नुभयो।
उक्त अवसरमा किवानिज डिष्ट्रिक्टका Immediate Past District Governor (IPDG) तिर्थ कुमार सिंह, KCFN चेयर गोपिमान श्रेष्ठ, सारथी क्लबका संस्थापक अध्यक्ष धनु माया सिंजाली, तथा कार्यक्रम संयोजक कैलास श्रेष्ठले छात्रवृत्ति प्राप्त विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै अभिभावकलाई समेत आवश्यक परेको बेलामा सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि वडा न.का अध्यक्ष रामेश्वर थापाले लाखौं खर्च गरेर समाजको मेरुदण्ड – गरिब तथा जेहेन्दार विद्यार्थीहरूको उज्ज्वल भविष्यको निम्ति अभिभावकको भूमिका निर्वाह गर्नु भएको किवानिज क्लब परिवारलाई धन्यवाद ज्ञापन गर्दै यस किसिमका कार्यक्रमहरू वडामा उदाहरणीय बन्न सक्ने धारणा व्यक्त गर्नुभयो।




.gif)





