काठमाडौँ । अर्घाखाँची, शितगङ्गा नगरपालिका–१३ माझिफाँटस्थित हिमालयन बाख्रापालन तथा कृषि फार्म मा बाघको आक्रमणबाट ठूलो क्षति पुगेको छ। फार्मका सञ्चालक घनश्याम अधिकारीका अनुसार बुधबार बाख्रा चराउन जङ्गल लगेका बेला बाघले आक्रमण गरी १५ वटा बाख्रा प्रभावित भएका थिए। तीमध्ये ७ वटा बाख्रा मरेका छन् भने ८ वटा अझै बेपत्ता छन्।
बुधबार बाख्रा चराउन जङ्गल गएका बेला ३० वटा बाख्रा हराएका थिए। तीमध्ये १४ वटा सकुशल फर्किए भने एउटा घाइते अवस्थामा भेटियो। बाँकी १५ मध्ये ७ वटा बाघको आक्रमणमा मरेका भेटिए, ८ अझै फेला परेका छैनन्, फार्म सञ्चालक अधिकारीले जानकारी दिए।
हराइरहेका बाख्राको खोजी जारी भए पनि अहिलेसम्म फेला नपरेको र ती पनि बाघको आक्रमणमा परेको हुनसक्ने उनको आशङ्का छ।
फार्मका अर्का सञ्चालक विष्णु पौडेलका अनुसार करिब दुई वर्षअघि रु १२ लाखको लगानीमा फार्म स्थापना गरिएको थियो भने हालसम्म कुल लगानी करिब रु ३५ लाख पुगेको छ। बाख्रासँगै फार्ममा ब्रोइलर कुखुरा र बङ्गुर पनि पालन गरिएको छ।
पौडेलले गत जेठमा फार्ममा पालिएका २,५०० ब्रोइलर कुखुरा मध्ये एकै दिन १,२०० मरेको जानकारी दिंदै निरन्तरको क्षतिले फार्म सञ्चालनमा कठिनाइ आएको बताए। “स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचका साथ लगानी गरेका थियौं, तर सोचेजस्तो परिणाम आउन सकेको छैन,” उनले भने।
स्थानीयवासीका अनुसार पछिल्लो समय शितगङ्गा क्षेत्रमा बाघको आक्रमण बाक्लिंदो छ। बुधबार राति मात्र नजिकैको भलासिक्र गाउँमा समेत जङ्गली जनावरको आक्रमणमा परी एक खोरका ४ बाख्रा मरेका छन् भने एक बाख्रा घाइते अवस्थामा भेटिएको सिमलपानी प्रहरी चौकीले जनाएको छ।




.gif)





