काठमाडौं । भदौ ७,लगानी बोर्डको ६५औँ बैठकले ५४ मेगावाट क्षमताको तल्लो अप्सुवा जलविद्युत् परियोजनामा करिब रु ८ अर्ब ८४ करोड बराबरको लगानी स्वीकृत गरेको छ। लगानी बोर्ड कार्यालयका प्रवक्ता प्रद्युम्न प्रसाद उपाध्यायका अनुसार, आज सम्पन्न उक्त बैठकले परियोजनालाई अगाडि बढाउन अनुमति दिएको हो।
प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले अन्य महत्वपूर्ण परियोजनाहरू सम्बन्धी निर्णयहरू पनि गरेको छ।
बैठकले ८०० मेगावाट क्षमताको पश्चिमसेती जलविद्युत् परियोजनाको परियोजना विकास सम्झौताको मस्यौदा, वित्तीय ढाँचा लगायतका विषयमा छलफल गर्न प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको छ।
त्यस्तै, पाँचखाल विशेष आर्थिक क्षेत्रको विकास तथा सञ्चालन परियोजना र काठमाडौँ–हेटौँडा–वीरगञ्ज पोडवे परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन पेस गर्न तथा सर्वेक्षण अनुमतिपत्र प्रदान गर्ने अधिकार बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई दिने निर्णय समेत बैठकले गरेको छ।
यसैगरी, ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाका लागि आवश्यक पर्ने विद्युत् प्रसारण लाइनको नयाँ ‘अलाइनमेन्ट’को सम्भाव्यता तथा वातावरणीय अध्ययन गर्न कर्णाली ट्रान्समिसन कम्पनी प्रालिलाई सहमति प्रदान गर्ने निर्णय गरिएको छ।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.शिवराज अधिकारी, मुख्यसचिव एकनारायण अर्याल, नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेल, तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठ लगायत उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो।




.gif)





