images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • साउन सकिँदा महोत्तरीमा करिब ७५ प्रतिशत...

साउन सकिँदा महोत्तरीमा करिब ७५ प्रतिशत रोपाइँ

साउन सकिँदा महोत्तरीमा करिब ७५ प्रतिशत रोपाइँ

images
images
आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • साउन अन्तिम साताको अनुकूल वर्षा भएसँगै महोत्तरीमा करिब ७५ रोपाइँ भएको छ ।  साउनको अन्तिम साता दिनहुँजसो पानी परेपछि धमाधम रोपाइँ भई करिब तीन भाग जमिनमा धानखेती भएको हो । साउन दोस्रो सातासम्म करिब ३० प्रतिशत मात्र रोपाइँ भएकामा तेस्रो साता बित्दा लगभग ४५ प्रतिशत पुगेको र मसान्तसम्म  करिब ७५ प्र्रतिशतको हाराहारी रोपाइँ भएको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयले जनाएको छ ।

    images
    images

    “साउनको पछिल्लो साता आकासे पानीले पनि साथ दियो, किसानले भूमिगत जलस्रोतका विकल्पलाई निकै उपयोग गरे, यसले रोपाइँ बढाउन मद्दत ग¥यो” बालीविज्ञसमेत रहनुभएका कार्यालयका सूचना अधिकारी अविरलकुमार महतो भन्नुहुन्छ, “साउन सकिदासकिँदै धान रोपाइँ ७५ प्रतिशतको हाराहारी पुग्यो ।” मधेशका अन्य जिल्लाको तुलनामा निकैपछि परेको महोत्तरीको धान रोपाइँले साउन तेस्रो साताको प्रारम्भदेखि नै गति लिएको हो । इनार, डिपबोरिङ र स्यालो ट्युवबेलबाट मोटरपम्प र पम्पसेटले पानी तानेर रोपाइँ गरिरहेका किसानलाई साउनको अन्त्यतिर लगातार परेको पानीले निकै राहत दियो ।

    “साउन दोस्रो सातासम्म एक कठ्ठा हिल्याउन तीन घण्टा बढी मोटरपम्प र पम्पसेट चलाउनु पथ्र्यो, त्यसयता अलिअलि पानी पर्न थालेपछि तानेको पानी चाँडै लाग्दा सहज हुँदैगयो” भङ्गाहा–५ सिद्धपुरका शनिश्चर बाँतर भन्नुहुन्छ, “साउन अन्तिम साता सुरु भएसँगै माटो गालेर पानी पर्न थाल्यो, यसले रोपाइँलाई निकै मद्दत ग¥यो । आफ्नो बस्तीमा साउन सकिदासकिँदै रोपाइँ पनि सकियो, अहिले यहाँका स्थानीय किसान खुसी छन् ।”साउन मध्ययता दिनहुँजसो परेको पानीले यहाँका किसानलाई अब भने धान भित्रिने आस जागेको छ । मध्य साउनपछिको वर्षा धानखेतीलाई अमृत झैँं भएको किसान बताउँछन् । बाँतरकै छिमेकी रामनारायण झा भन्नुहुन्छ, “दुःखले धान रोपियो, अब मङ्सिरमा केही धान भित्रिने आस जाग्यो ।”

    images
    images

    जिल्लामा सुदूरउत्तर, पूर्वीभेग र मध्यसम्म रोपाइँ राम्रो भए पनि दक्षिणपश्चिमी भेगमा भने अझै पनि पानी अपुग छ । जिल्लाका १५ स्थानीयतहमध्ये मनराशीशवा, सम्सी, एकडारा र सोनमासहितका पाँच÷छ पालिकामा पानी अपूग हुँदा रोपाइँपछि परेको किसानको भनाइ छ । “हामीकहाँ पानी पुगेन, भूमिगत जलस्रोत पनि भरपर्दाे हुनसकेन, त्यसैले रोपाइँपछि प¥यो” मनराशीशवा नगरपालिकाको साँढा बस्तीका चन्द्रभूषण मौव्वार भन्नुहुन्छ, “अब त रोप्ने बेला पनि घर्कियो, सरकारले किसानलाई समयमै अरु बाली लगाउन भरथेग गर्नुपर्छ ।”

    जिल्लाका केही भेगमा रोपाइँपछि परेपनि अधिकांश भेगमा भने किसानले मरिहत्ते गरेर धान रोपेका छन् । “साउन तेस्रो साताको प्रारम्भसँगै अलिअलि पानी पर्न थालेपछि रोपाइँले गति लिएको हो, पानी पर्न थालेपछि भूमिगत पानीको सिँचाइ सहज र कम खर्चिलो भएसँगै किसानले रोपाइँको गति बढाएका हुन्” कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयका सूचना अधिकारी महतो भन्नुहुन्छ, “साउन चौथोसाता लागेपछि त ठाउँठाउँमा परेकै पानीले रोपाइँ हुन थाल्यो, कतिपय ठाउँमा भूमिगत जलस्रोतको पानीलाई वर्षाले साथ दियो ।” साउन अन्तिम साताको वर्षाले यसअघि रोपिएको धान जगाउन र रोपाइँ बढाउन निकै राहत मिलेको महतो बताउनुहुन्छ । जिल्लामा अहिलेसम्म करिब ३३ हजार ३५० हेक्टरमा रोपाइँ भएको छ । यो धानखेती गरिने कूल ४५ हजार हेक्टरको ७५ प्रतिशतको हाराहारी हो ।  

    साउन मध्ययता इनार, स्यालोट्युवबेल र डिपबोरिङबाट तानिएको पानीले वर्षाको साथ पाउँदा कम समयमा बढी खेत हिल्याउन सहयोग पुगेको किसान बताउँछन् । पानी परिरहँदा भूमिगत तानिएको पानीले चाँडै  खेत हिल्याउन सहयोग पुगेको किसानको भनाइ छ ।  “कसैगरी धान रोपियो, मोटरपम्प र पम्पसेटबाट तानिएको पानीमा वर्षाको साथ मिल्यो” बर्दिबास–७ प्रेमनगरका किसान रामऔतार महतो भन्नुहुन्छ, “हामीकहाँ अब लगभग धान रोपाइँ सकियो ।” साउन १५ यता दिनहुँजसो केहीबेर पानी पर्दै आएपछि त्यसअघिको धजा फाटेको खेतको रोपो हरियो भएर लहलहाएपछि अबचाहीँ घरमा धान भित्रिने आस जागेको महतोको भनाइ छ ।  

    साउन सकिँदा पनि किसान अझै रोपाइँमा धसिएका छन् । अब बढीमा दुई÷तीन दिन अझै रोपाइँ चल्ने कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयका कृषिविज्ञको भनाइ छ । किसानको तयारी अवस्थालाई हेर्दा रोपाइँ ८० प्रतिशत पुग्ने अनुमान गरिएको कार्यालयका सूचना अधिकारी महतो बताउनुहुन्छ । यद्यपि अब यसपाली खरुअन (कलम) नहुर्कदा मूल बीउको रोपो एक÷दुई दिनभन्दा बढी लम्ब्याउन नहुने किसानलाई बालीविज्ञको सुझाव छ । यसपालि लामो खडेरीले असार २२ भित्र सक्नुपर्ने बीउ रोपो किसान अझै रोप्दैछन् । खरुअन (कलम) लगाउन यसअघिको रोपो नगाजिँदा अहिले पनि बीउ रोप नै चलाउनु परेको किसानको भनाइ छ । यसपाली बीउ ब्याडमै कैयौँ चोटी सुक्दा किसानले पटकपटक ब्याड राख्नुपरेको थियो । पछि  बीउकै अभावले कतिपय किसानले पानी अनुकूल हुँदा पनि रोपाइँ बढाउन सकेनन् ।  

    यसपालि रोपाइँ ढिलो भएको हुँदा अस्वभाविक रुपमा कीरा र रोगको प्रकोप सुरु हुनसक्नेतर्फ सचेत रहन र तत्काल सल्लाह लिन कृषि विज्ञले किसानलाई सुझाएका छन् । यसैगरी साउन मध्यअघिको रोपोमा झार व्यवस्थापनमा तत्काल ध्यान दिन किसानलाई कृषि विज्ञसमेत रहनुभएका सूचना अधिकारी महतोको सुझाव छ । महोत्तरीसहितका मधेशमा हिउँदे धान लगाउने स्थापित तालिका यसपाली पानीको अभाव र समयमा भरपर्दो बीउ नभेटिदा पछि परेको छ  । यहाँ हिउँदे धानखेतीका लागि जेठ तेस्रो साताभित्र ब्याड राख्ने, असार तेस्रो साताभित्र पहिलो शाही रोप (बीउ रोप) सक्ने र साउन मसान्तसम्म खरुअन (कलम, धानको बीउ रोप गाँजिएपछि त्यो उखलेर रोप्ने काम) रोप लगाउने परम्परागत तालिका छ । किसानले यो तालिकाभित्र पानी, बीउ र मल नपाइँदा हण्डर खानु परेको बताएका छन् । तीनै तहका सरकारसँग समयमै धानखेतीका लागि आवश्यक पानी, मल, बीउसहितको वातावरण सुनिश्चित गरिदिन किसानले माग गरेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend