काठमाडौं, साउन ३१ (शनिवार) आज देशभर श्रीकृष्ण जन्माष्टमी पर्व श्रद्धा, भक्ति र उत्साह पूर्वक मनाइँदै छ। भगवान श्रीकृष्णको पूजा–आराधना, भजन कीर्तन, व्रत बस्ने र जाग्राम बस्ने परम्परा सहित हिन्दू धर्मावलम्बीहरूले यो पर्व मनाइरहेका छन्।
पर्वको अवसरमा राजधानीको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिर, मंगलबजारमा बिहानै देखि ठूलो मेला लागेको छ। त्यस्तै, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ मा रहेको नवतनधाम र बूढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत सङ्घको मन्दिरमा पनि भक्तजनको भीड लागेको छ।
यसै उपलक्ष्यमा काठमाडौंका विभिन्न धार्मिक संघसंस्थाहरूले श्रीकृष्णको झाँकी, शोभायात्रा र रथयात्रा आयोजना गर्ने तयारी गरेका छन्। बालबालिकालाई श्रीकृष्णको रूपमा सिँगार्ने प्रचलन पनि यस पर्वमा विशेष रहन्छ। शनिवार परेकाले विद्यालयहरूमा शुक्रवार नै श्रीकृष्णको स्वरूपमा बालबालिकालाई प्रस्तुत गरिएको थियो भने आज पनि घर–घरमा उनीहरूलाई सजाउने क्रम जारी छ।
धार्मिक विश्वास अनुसार, द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान श्रीकृष्णको जन्म भएको थियो। उनलाई भगवान विष्णुको आठौं अवतार मानिन्छ। उनले जीवनभर सत्य, धर्म र न्यायको पक्षमा उभिएर मानव समुदायलाई सत्कर्मका लागि प्रेरणा दिएका थिए।
आजको दिनलाई ‘कृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनेर चिनिन्छ।




.gif)





