काठमाडौंः नेपाल, वैदेशिक रोजगारीका लागि कुवेतमा रहेका ९ जना नेपालीको विषादीयुक्त मदिरा सेवनका कारण ज्यान गएको छ। कुवेतस्थित नेपाली दूतावासका अनुसार, उनीहरूको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यले ९ नेपालीको मृत्यु भएको पुष्टि गरेका छन्। उनले भने, यहाँका आधिकारिक फोकल पर्सनबाट हालसम्म ९ जना नेपालीको मृत्यु भएको जानकारी पाएका छौं। प्रारम्भिक अनुसन्धान अनुसार विषादीयुक्त मदिरा सेवन कारण हुनसक्ने देखिएको छ, तर मेडिकल रिपोर्ट आएपछि मात्रै यकिन भन्न सकिन्छ।
मृतक बाहेक करिब ३५ जना नेपाली मजदुर अहिले विभिन्न सुविधा सम्पन्न अस्पतालहरूमा उपचाररत छन्। आचार्यका अनुसार, कुवेत सरकारको समन्वयमा सबै घाइतेहरूको उचित उपचार भइरहेको छ। दूतावास स्वयं पनि अस्पतालहरूको निरीक्षण र सम्पर्कमा सक्रिय छ।
कुवेतमा मदिरा सेवन गैरकानुनी रहेको र यसबारे दूतावासले पटकपटक नेपाली श्रमिकहरूलाई चेतावनी दिँदै आएको पनि उनले बताए। हामी निरन्तर खबरदारी गर्दै आएका थियौं। यस्तो दुःखद घटना नदोहोरियोस् भनेर फेरि पनि नेपाली समुदायलाई सतर्क रहन अपील गर्दछौं, आचार्यले भने।
यस घटना सँग सम्बन्धित थप जानकारीका लागि नेपाली दूतावासले हटलाइन सेवा सुरु गरेको छ। इच्छुकहरूले +९६५६१००८९५६ मा सम्पर्क गरेर जानकारी लिन सक्नेछन्।
यससंगैँ कुवेतमा रहेका नेपाली श्रमिकहरूलाई सुरक्षित रहन, गैरकानुनी गतिविधिबाट टाढा बस्न, र दूतावास सँग सम्पर्कमा रहन आग्रह गरिएको छ।




.gif)





