images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • नेपाल टेलिकमको ३० प्रतिशत सेयर बेच्ने...

नेपाल टेलिकमको ३० प्रतिशत सेयर बेच्ने तयारी

नेपाल टेलिकमको ३० प्रतिशत सेयर बेच्ने तयारी

images
images
शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० २०८२
  • काठमाडौं । प्रत्येक वर्ष बजेटमा सरकारको बहुमत स्वामित्व रहेको नेपाल टेलिकमको सेयर बिक्री गर्ने र रणनीतिक साझेदार भित्र्याउने योजना ल्याउने गरिएको छ । तर, टेलिकमको सेयर बिक्री प्रक्रिया अघि बढाउने योजना ल्याइएको छैन । न त रणनीतिक साझेदार भित्र्याउने योजना अघि बढाइएको छ ।चालु आर्थिक वर्षमा पनि सरकारको बहुमत कायम रहने गरी टेलिकमको ३० प्रतिशत सेयर आमनागरिकलाई बिक्री गर्ने योजना ल्याइएको छ ।  यति मात्र होइन, विगतका वर्षमा जस्तै कम्पनीको संस्थागत सबलीकरणका निम्ति रणनीतिक साझेदारीको नीति लिइने बजेटमा उल्लेख छ ।

    images
    images

    पटक–पटक योजना ल्याएर कार्यान्वयन नभएकाले यो वर्ष पनि टेलिकमको स्वामित्व बिक्री र रणनीतिक साझेदार भित्र्याउने विषय कागजमै सीमित हुने सम्भावना छ । १८ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको नेपाल टेलिकममा कर्मचारीसहित सर्वसाधारणको सेयर हिस्सा हाल ८.४७ प्रतिशत छ । ९१.५३ प्रतिशत हिस्सा सरकारको छ ।३० प्रतिशत सेयर बिक्री भएमा टेलिकममा सरकारको घटेर ६१.३० प्रतिशत मात्र स्वामित्व हुनेछ । हाल टेलिकमको बजार पुँजीकरण डेढ खर्ब रुपैयाँ छ ।चालु आर्थिक वर्षमा टेलिकमको सेयर बिक्री र रणनीतिक साझेदारको प्रक्रिया अघि बढाइने अर्थ मन्त्रालयअन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेलले बताए । 

    “टेलिकमको स्वामित्व बिक्रीका लागि मन्त्रालयले आन्तरिक गृहकार्य गरिरहेको छ । कार्ययोजना बनाएर प्रक्रिया अघि बढ्नेछ,”  भने “देखिने गरी काम नभए पनि अर्थले आन्तरिक रूपमा काम सुरु गरेको छ ।”नेपाल टेलिकममा रणनीतिक साझेदार भित्र्याउन अर्थ मन्त्रालयमा यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रस्ताव पठाएको थियो । रणनीतिक साझेदार भित्र्याउन ०७५ सालमा नै टेलिकमको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गरिएको थियो । त्यति बेला एनालाइसिस म्यासन इन्डियाले टेलिकमको डीडीए गरेको थियो ।त्यस बेलाका सञ्चारमन्त्री गोकुल बाँस्कोटा नेपाल टेलिकमको ३० प्रतिशत सेयर बिक्री गरेर रणनीतिक साझेदार ल्याउने योजना बनाएका थिए ।  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले अध्यादेश बजेटमा टेलिकमको २२ प्रतिशत सेयर बिक्री गर्ने योजना ल्याएको थियो ।

    images
    images

    यस्तै, मोबाइल ल्यान्डलाइन र इन्टरनेट सेवा उपभोग गर्ने प्राकृतिक व्यक्तिलाई कम्पनीको २२ प्रतिशत सेयर बिक्री गर्ने योजना बजेटमा थियो ।  त्यस बेला ०७८ पुस मसान्तसम्म कायम ग्राहकले सेयर खरिदमा सहभागी हुन सक्ने व्यवस्था मिलाइने भनिएको थियो ।मोबाइल प्रयोगकर्ता ह्वाट्सएप, भाइबर र म्यासेन्जरजस्ता ओभर द टप (ओटीटी) एपमा झुम्मिँदा मुलुकमा सञ्चालित टेलिकम सेवाप्रदायकको आम्दानीमा गिरावट आएको छ । टेलिकम कम्पनीहरूको भ्वाइसका साथै डेटा सेवाबाट प्राप्त हुने आम्दानी निरन्तर ओरालो लाग्दै गएको छ ।गत आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल टेलिकमको खुद नाफा ४९ प्रतिशतले गिरावट आएको छ । दोस्रो त्रैमासमा टेलिकम कम्पनीको खुद नाफा झन्डै आधा ४९.१९ प्रतिशतले घटेको थियो । 

    तेस्रो त्रैमासमा आउँदा कम्पनीको नोक्सान फराकिलो हुँदै गएको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ । गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक भइसकेको छैन । टेलिकमले चालु आर्थिक वर्षको चैतसम्म दुई अर्ब ८४ करोड २२ लाख ८९ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको यही अवधिमा टेलिकमको खुद नाफा पाँच अर्ब ५३ करोड ७५ लाख ६३ हजार रुपैयाँ थियो । समीक्षा अवधिमा टेलिकमको नाफा झन्डै शतप्रतिशत अर्थात् दुई अर्ब ६९ करोड ५२ लाख ७४ हजार रुपैयाँले घटेको छ ।यस्तै, नेपाल टेलिकमको कुल आम्दानी घटेर २८ अर्ब ४३ करोड १५ लाख ६६ हजार रुपैयाँमा सीमित छ । गत वर्षको यही अवधिमा टेलिकमको कुल आम्दानी ३१ अर्ब २० करोड ४८ लाख ५८ हजार रुपैयाँ थियो । एक वर्षको अवधिमा कुल आम्दानी पनि दुई अर्ब ७७ करोड ३२ लाख ९२ हजार रुपैयाँले घटेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ ।

    टेलिकमले सेयरधनीलाई दिने लाभांशमा निरन्तर गिरावट आएको छ ।  नेपाल टेलिकमले गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित ३० प्रतिशत नगद लाभांश वितरण गरेको छ । उसले गत वर्ष ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यता, सरकारले चालु आर्थिक वर्ष काठमाडौं उपत्यका र ठूला सहरमा पाँचौँ पुस्ता (फाइभजी) सेवा सुरुआत गर्ने योजना सार्वजनिक गरेको छ । काठमाडौंलगायत प्रमुख सहरमा फाइभजी सेवा सुरु गर्न ठूलो लगानी आवश्यक पर्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend