काठमाडौँः पाल्पा,असारे रोपाइँको झल्को दिने परम्परागत रोपाईजात्रा यस वर्ष पनि पाल्पाको तानसेनमा धूमधाम सँग सम्पन्न गरिएको छ। मल्लकाल देखि चली आएको यो सांस्कृतिक पर्व असार १६ पछिको गाईजात्रा सकिए पछि मनाइने गरिन्छ।
तानसेन नगरपालिकाको आयोजना र देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालय तथा वडा नं. ७ का टोल विकास संस्थाहरूको सहकार्यमा यो वर्ष दुईवटा रोपाई जात्रा निकालिएको हो। अघिल्ला वर्षहरूमा चार–पाँचवटा जात्रासम्म देखाइने भए पनि खर्च बढेका कारण ग्रामीण स्तरका समुदायहरूले यो जात्रा निकाल्न छोड्न थालेका छन्, जसले गर्दा सांस्कृतिक सम्पदा हराउने डर देखिएको छ।
जात्राको क्रममा पञ्चेबाजा बजाउँदै असारे गीत गाउँदै सडकमा हलो जोत्नेदेखि धान रोप्ने, बाउसेले खेत मिलाउने, नाचगान गर्ने दृश्यहरू प्रस्तुत गरिएको थियो। यसले न केवल मनोरञ्जन प्रदान गर्यो, तर शहरमा बस्ने नयाँ पुस्तालाई रोपाई गर्ने परम्परागत तरिका पनि देखाएको छ।
स्थानीय बुद्धिजीवी बुद्धि प्रसाद शर्माका अनुसार, विगतको कला, संस्कृति र परम्परा जोगाउन यस्ता जात्राहरू अत्यन्त महत्वपूर्ण छन्।
यस सांस्कृतिक अभ्यासलाई प्रोत्साहन गर्न तानसेन नगरपालिकाले प्रति जात्रा ५० हजार रुपैयाँ आर्थिक सहयोग दिने घोषणा गरेको छ।




.gif)





