काठमाडौँः साउन २१, प्युठान नगरपालिका–७ टिकुरीकी ३४ वर्षीया खिमा केसी बिहान भैँसी गोठमै ब्यस्त हुन्छिन्। बिहानै देखि भैँसी स्याहार, दूध दुहुने र बजार सम्म पु¥याउने कार्यले उहाँको दैनिकी तय गर्छ। यतिबेला यो पेशा मात्र होइन, उहाँका लागि जीवन शैलीको अभिन्न हिस्सा बनिसकेको छ।
करिब तीन वर्ष अघि कपिलवस्तु बाट ३ वटा भैँसी किनेर सुरु गरिएको व्यवसाय अहिले ‘प्रगति कृषि तथा पशुपंक्षी फार्म’को नामले परिचित छ। हाल उहाँ सँग हरियाणा जातका १० मुर्रा भैँसी छन्, जस मध्ये ४ दुहुना छन्। ती भैँसीबाट दैनिक ५५–६० लिटर दूध उत्पादन हुँदै आएको छ।
‘दैनिक ५० लिटर दूध बिक्री हुन्छ,’ खिमाले बताउनु भयो, ‘डेरीलाई प्रतिलिटर ८० रुपैयाँ र घरमै ग्राहकलाई १ सय रुपैयाँमा बिक्री गर्छु।’
यस व्यवसायबाट खिमाले मासिक झण्डै ५० हजार रुपैयाँ आम्दानी गरिरहनु भएको छ। सुरुमा गोठ निर्माण र भैँसी खरिदमा ७ लाख रुपैयाँ लगानी गरेकी उहाँले हाल सम्म करिब १५ लाख रुपैयाँ सम्मको लगानी गर्नु भएको छ।
‘श्रीमान् ट्राफिक प्रहरीमा हवल्दार हुनुहुन्छ,’ खिमाले बताउनु भयो, ‘उहाँको तलबले मात्र घर खर्च धान्न मुस्किल थियो। व्यवसायले आम्दानी मात्र होइन, आत्मविश्वास पनि दियो।’
चार रोपनी जग्गामा हरियो घाँस उत्पादन गर्दै आउनु भएकी खिमाले सुख्खा समयमा पराल र गहुँको भूसा कपिलवस्तु लगायतका स्थानबाट किनेर व्यवस्थापन गर्दै आउनु भएको छ।
कक्षा १२ अध्ययन गर्नु भएकी खिमाका दुई छोरा र एक छोरी छन्। उहाँका अनुसार श्रीमान्, सासुआमा र परिवारका अन्य सदस्यको सहयोगले यो सम्भव भएको हो। श्रीमान् अवकाश पाएपछि व्यवसायलाई अझै विस्तार गर्ने योजना उहाँको छ।
प्युठान नगरपालिकाको पशु विकास शाखाबाट नियमित प्राविधिक सल्लाह लिँदै आउनु भएकी खिमा हाल झिमरुक पशुपंक्षी तथा मत्स्य सहकारी मार्फत बाग्दुलामा दूध बिक्री गर्दै आउनुहुन्छ। सहकारी मार्फत बिक्री गर्दा दूधमा अनुदान पाउने भएपछि त्यसैलाई प्राथमिकता दिइएको उहाँको भनाइ छ।
हाल उहाँले दूध प्लास्टिकमा प्याकिङ गरी ग्राहकको घरमै पुर्याउने अभ्यास समेत सुरु गर्नु भएको छ। स्वरोजगार मार्फत आत्मनिर्भर बन्न सफल खिमा स्थानीय स्तरमै उदाहरणीय उद्यमीको रूपमा स्थापित हुँदै गइरहनु भएको छ।




.gif)





