images

२०८३ आश्विन १९ गते

images
images
images

अलैँची खेतीतर्फ किसान आकर्षित

अलैँची खेतीतर्फ किसान आकर्षित

images
images
शुक्रवार, श्रावण २३ २०८२
शुक्रवार, श्रावण २३ २०८२
  • ताप्लेजुङ । ताप्लेजुङमा अलैँची खेतीतर्फ किसानको आकर्षण बढेको पाइएको छ । पछिल्लो समय अलैँचीको मूल्य आकर्षक रुपमा वृद्धि भएपछि खेतीतर्फ किसानको आकर्षण बढेको हो ।अलैँची खेतीतर्फ किसानको आकर्षणसँगै उनीहरुले धान, मकै, कोदोजस्ता खाद्यान्न बाली उत्पादन हुने खेतीयोग्य जमिन मासेर अलैँची रोप्न थालेका हुन् । पछिल्लो समय वृद्धि भएको अलैँचीको मूल्य कायम रहेमा खाद्यान्न बालीभन्दा अलैँचीबाट धेरै गुणा बढी आम्दानी हुने भएकाले खेतीतर्फ किसान आकर्षित भएका हुन् ।

    images
    images

    गएको आर्थिक वर्षमा अलैँचीको मूल्य अत्यधिक राम्रो आएकाले जिल्लाका किसान खेती गर्नेतर्फ आकर्षित भएका हुन् । मिक्वाखोला गाउँपालिका –४ साँवाका स्थानीय इन्द्र थलङ लिम्बूले राम्रो मूल्य आएकाले अलैँची खेती गर्नमा किसानको जाँगर पलाएको बताउनुभयो । आकर्षक मूल्यसँगै अन्य खेतीजस्तो बढी मिहिनेत पनि गर्नु नपर्ने भएकाले अलैँची खेतीमा किसानको आकर्षण बढेको लिम्बूले बताउनुभयो ।लिम्बूले आफ्नो करिब ३० रोपनी क्षेत्रफल बराबरको जमिनमा यस पटक अलैँची खेती विस्तार गरेको बताउनुभयो । लिम्बूले सो जमिनमा भएको पुरानो बगान (बगैँचा) लाई राम्ररी स्याहारसम्भार गर्नुका साथै जमिन खाली भएको ठाउँमा अलैँचीको बिरुवा रोप्नुभएको छ । मिक्वाखोला गाउँपालिकाकै खोक्लिङ निवासी विनोद साँवा लिम्बूले पनि यसवर्ष अलैँचीको खेती निकै विस्तार गर्नुभएको छ ।

    यस्तै, सिरिजङ्घा गाउँपालिका –७ खेबाङका स्थानीय नेत्र आचार्यका अनुसार अधिकांश किसानले यसवर्ष अलैँची खेती विस्तार गरेका छन् । पछिल्लो वर्ष अलैँचीको मूल्य राम्रो आएपछि खेती गर्नतर्फ किसानलाई हौसाएको आचार्यले बताउनुभयो । फक्ताङ्लुङ गाउँपालिका –३ लिङ्खिमका स्थानीय क्षितिज लिङ्खिम लिम्बूले पनि गाउँका धेरै किसानले नयाँ अलैँची खेती लगाएको बताउनुभयो । यसरी जिल्लाका धेरै किसानले यसवर्ष अलैँची खेती विस्तार गरेका छन् । जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अलैँचीको मूल्य वृद्धि भएकै कारण खेतीतर्फ स्थानीय किसान आकर्षित भएका अर्थात् हौसिएका हुन् । अलैँची खेतीमै निर्भर रहँदैआएका अधिकांश किसानले बिचमा झण्डै ८–१० वर्षसम्म मूल्यमा निरन्तर गिरावट आएपछि वैकल्पिक पेशा अपनाउन थालेका थिए । 

    images
    images

    पछिल्लो वर्ष पुनः अलैँचीको मूल्य राम्रो आएपछि खेतीतर्फ किसान आकर्षित हुन थालेका अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवी रेग्मीले बताउनुभयो । सङ्घका अध्यक्ष रेग्मीले पछिल्लो पटक वृद्धि भएको मूल्य कायम नहरे पनि खाद्यान्न बालीको तुलनामा अलैँची खेतीले नै यहाँका किसानलाई फाइदा हुने बताउनुभयो । उहाँका अनुसार खाद्यान्न बालीभन्दा अलैँचीबाट नै राम्रो फाइदा हुने बुझाइसहित स्थानीय किसानहरु खेती गर्नेतर्फ जुटेका छन् । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार पनि जिल्लाका किसानले यसवर्ष अलैँची खेती विस्तार गरेका छन् । 

    खेती विस्तार गरिएको यकिन तथ्याङ्क तत्काल नभए पनि अधिकांश किसानले खेती विस्तार गरेको पाइएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवम् बाली संरक्षण अधिकृत शशीकुमार सिंहले बताउनुभयो ।नौ स्थानीय तह र ६१ वटा वडा रहेको जिल्लामा फक्ताङ्लुङ गाउँपालिका –७ ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैँची खेती गर्ने गरिएको छ । कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार जिल्लामा चार हजार १६५ हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदैआएको छ । खेती विस्तारसँगै अब अलैँचीको खेती क्षेत्र बढ्ने अनुमान गरिएको छ । जेठको दोस्रो साता पछिदेखि साउन महिनाको अन्तिमसम्म अलैँचीको बिरुवा रोप्ने गरिएको छ । किसानका अनुसार अलैँचीको बिरुवा रोपेको कम्तीमा तीन वर्षदेखि फल लाग्न थाल्ने गर्दछ । यता गत आवमा अलैँची प्रतिमन (४० किलोग्राम) एक लाख १५ हजार रुपियाँसम्म मूल्यमा कारोबार भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend