काठमाडौंः चीन निर्यातको लक्ष्य सहित सिन्धुलीमा २० अर्ब रुपैयाँको लगानीमा भैंसीको मासु प्रशोधन उद्योग स्थापना हुने भएको छ। यो उद्योगले प्रत्यक्ष रूपमा ५ हजार भन्दा बढी जनालाई रोजगारी दिनेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत उद्योग स्थापनाको जानकारी गराएका हुन्। उनका अनुसार सिन्धुली जिल्लाको मारिण गाउँपालिका–४ मा स्थापना हुने उक्त उद्योगका लागि उद्योग विभागबाट प्रत्यक्ष वैदेशिक लगानी अन्तर्गत २० अर्ब रुपैयाँको स्वीकृति प्राप्त भइसकेको छ।
प्रस्तावित उद्योगले वार्षिक २ लाख मेट्रिक टन भैंसीको मासु र ५५ हजार मेट्रिक टन सहायक उत्पादन (छाला, भित्री अंग, टाउको आद) उत्पादन गर्नेछ। चीनमा निर्यात केन्द्रित रहने यो उद्योग सञ्चालनमा आएपछि वार्षिक करिब डेढ खर्ब रुपैयाँ बराबरको मासु चीन पठाउने लक्ष्य लिएको छ।
सरकारको अनुसार, उद्योगले ५ हजार १५६ जनालाई प्रत्यक्ष रोजगारी दिनेछ, जसले स्थानीय अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याउने अपेक्षा गरिएको छ।
नेपालको मासु प्रशोधन उद्योगमा यो अहिले सम्मकै सबैभन्दा ठूलो लगानी हुने बताइएको छ। कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण र निर्यात प्रवर्द्धनमा यसको सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।




.gif)





