काठमाडौंः दुग्ध विकास संस्थान (डिडिसी) ले किसानको दूधको पैसा भुक्तानी गर्न सकेको छैन । कञ्चनपुरका सातवटा सहकारी र ३४ वटा कृषि फार्मको ६ करोड भुक्तानी गर्न बाँकी छ । संस्थानले गत मङ्सिर देखि सङ्कलन भएको दूधको भुक्तानी गर्न नसकेको हो ।
संस्थानले समयमा भुक्तानी गर्न नसक्दा आफूहरु मर्कामा परेको साथी कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णदत्त पनेरुले जानकारी दिनुभयो । “हामीले डिडिसीबाट मङ्सिर यताको रु ६० लाख रकम पाउनुपर्ने बाँकी छ ।” उहाँले भन्नुभयो, “डिडिसीले सहकारीलाई भुक्तानी गर्न नसकेपछि हामीले पनि किसानलाई समयमा भुक्तानी गर्न सकेका छैनौँं ।” उहाँका अनुसार साथी सहकारीले महिनाको पाँच हजार लिटर दूध दुग्ध विकास संस्थानलाई दिँदै आएको छ । संस्थानले दूधको पैसा भुक्तानी नगर्दा दूध उत्पादक किसानलाई दूधको पैसा दिन आफूहरुलाई समस्या भएको उहाँको भनाइ छ । “हाम्रो सहकारीले दैनिक एक हजार ५०० सम्म किसानबाट दूध सङ्कलन गर्छ । पनेरुले भन्नुभयो, “महिनामा स्थानीय बजारमा तीन हजार लिटर सम्म खपत हुन्छ बाँकी दुग्ध विकास संस्थानलाई दिन्छौँ ।”
त्यसैगरी, यहाँको साना किसान सहकारीले पनि संस्थानबाट दूधको भुक्तानी पाएको छैन । सहकारीका अध्यक्ष खगेश्वर पाण्डेलले संस्थानबाट मङ्सिरयता २९ लाख ५० हजार भुक्तानी पाउनुपर्ने रकम बाँकी रहेको बताउनुभयो । “हामीले प्रत्येक महिना किसानलाई दूधको पैसा तिर्नुपर्छ संस्थानले समयमा हामीलाई भुक्तानी गर्दैन,” उहाँले भन्नुभयो, “समयमा भुक्तानी नहुँदा हामी समस्यामा परेका छौँ सहकारीमा बचत गरेको पैसाबाट दूध किसानको पैसा भुक्तानी गर्नुपर्ने बाध्यता छ ।”
डिडिसी धनगढी दुग्ध वितरण आयोजनाका प्रमुख निरञ्जन भट्टराईले कञ्चनपुरका सातवटा सहकारी र ३४ वटा फार्मको छ करोड रकम भुक्तानी गर्न बाँकी रहेको जानकारी दिनुभयो । “कात्तिक देखि चैत सम्म बढी दूध सङ्कलन हुने भएकाले भुक्तानीमा ढिलाइ भएको हो,” उहाँले भन्नुभयो, “बाँकी रहेको छ करोड छिट्टै भुक्तानी हुन्छ, तीन करोड ३७ लाख गत महिनामा भुक्तानी गरिसकेका छौँ ।” उहाँले कञ्चनपुरबाट महिनामा दुई हजार ५०० देखि चार हजार लिटरसम्म दूध सङ्कलन हुने गरेको बताउनुभयो ।




.gif)





