भोजपुर । भोजपुरका किसानहरु व्यवसायिक कफी खेतीमा जुटेका छन् । विगत सामन्य रुपमा कफीको खेती गर्दै आएका किसान यहाँको उत्पादन बाह्य बजारमा जान थालेपछि व्यावसायिक कफी खेतीमा जुटेका हुन् ।भोजपुरको हतुवागढी गाउँपालिकाको सिन्द्राङ, होम्ताङ, लुङ्गिन, लुम्थुङसँगै आमचोक गाउँपालिकालगायत क्षेत्रका किसानहरुले यसको खेती गरिरहेका छन् ।यहाँका किसानहरुले उत्पादन गरेको कफी, धरान, इटहरी, विराटनगर काठमाण्डौ हुँदै जापान, कोरियासम्म जाने गरेको स्थानीय कफी व्यवसायी सुनिल श्रेष्ठले बताए । अर्गानिक(जैविक) कफीको विदेशी बजारमासमेत माग रहेको उनको भनाइ छ । भोजपुरमा उत्पादन भएको कफी संकलन गरेर बाहिरका बजारमा आफुले विक्री गर्दै आएको श्रेष्ठले जानकारी दिए ।
यो वर्ष यहाँबाट करिव पाँच हजार किलोग्राम कफीको कच्चा पदार्थ निर्यात भएको बताए । धेरै किसानले कफीको खेती विस्तार गरिरहेकाले आगामी दिनमा भोजपुरबाट निर्यात हुने कफीको मात्रा बढ्ने उनको भनाइ छ ।ल्याव परिक्षण गरेर अर्गानिक ठहरिएको खण्डमा समुन्द्री सहतबाट एक हजार एक सय मिटर देखी एक हजार पाँच सय मिटर उचाईसम्म उत्पादन भएको अर्गानिक कफीको बाहिरको बजारमा बढी माग रहेको व्यवसायी श्रेष्ठले बताए ।‘पछिल्लो समय भोजपुरका किसानहरु व्यवसायिक रुपमा कफी खेती विस्तारमा जुटेका छन्’ व्यवसायी श्रेष्ठले भने,‘यहाँ उत्पादन भएको अर्गानिक कफी देशका ठूला शहरसँगै विदेशमासमेत जान थालेको छ । उत्पादन भएको कफी घरबाट नै बिक्री हुन थालेपछि व्यवसायिक कफी खेतीमा लाग्नेको सङ्ख्या वर्षेनी बढ्दै गएको अवस्था छ ।’
स्थानीय किसानहरुले उत्पादन गरेको कफी घरबाट नै प्रतिकेजी एक सयमा बिक्री हुने गरेको छ । राम्रो फलेको कफीको एक बोटले २५ केजीदेखी ३० सम्म उत्पादन दिने व्यवासायी श्रेष्ठले बताए । प्रशोधन गरेको फकीको दाना शहरका बजारमा प्रतिकेजी पाँच सयमा बिक्री हुने गरेको उनले जानकारी दिए । यहाँका करिव दुई सय जना किसानले कफीको खेती गरिरहेको श्रेष्ठले बताए ।हतुवागढी क्षेत्र कफीको लागि उपयुक्त रहेकोले यसको खेतीमा जोड दिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । कोशी प्रदेश सरकारसँगको सहकार्यमा व्यवसायिक कफी खेतीको विस्तारको लागि प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिने अध्यक्ष राईको भनाइ छ ।कफी खेतीको विकास तथा विस्तारको लागि प्रदेश सरकारबाट श लाख बजेट विनियोजन भएकाले गाउँपालिकाले पनि साझेदारी गरेर कार्यक्रम सञ्चालन तयारी गरेको उनले बताए ।
‘हाम्रो हतुवागढी क्षेत्र कफी खेतीको लागि राम्रो भूगोल मानिन्छ’ अध्यक्ष राईले भन्नुभयो,‘किसानहरुले अहिले पनि यसको खेती गरिरहेका छन् । कफी खेतीको थप विस्तार तथा विकासका लागि प्रदेश सरकारसँगको सहकार्यमा प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ ।’विगतमा राम्रो बजार नभएपनि अहिले यहाँ उत्पादन भएको कफी बाहिरको बजारमा जान थालेको अध्यक्ष राईले बताए । गाउँपालिकामा नै नर्सरी स्थापना गरेर बाँझो जमिनलाई सदुपयोग गर्दै बृहत रुपमा खेती विस्तारका लागि योजनाबद्ध रुपमा काम भइरहेको उनको भनाइ छ ।




.gif)





