काठमाडौंः नेपालले शनिबार भुटानलाई एकपक्षीय खेलमा ८–० गोलले हराएको छ । बङगलादेशको ढाकास्थित बसुन्धरा स्पोट्र्स मैदानमा भएको खेलमा नेपालले मध्यान्तर पछिको खेल हुनुअघि आधा दर्जन गोल गरिसकेको थियो । खेलको ४४औं सेकेन्डमै भुटानकी डिफेन्डर सोनाम छोडेन को गल्तीमा बल प्राप्त गरेकी मिनाले गोलपोस्ट नजिकबाट गोल गरिन् । खेलको नवौं मिनेटमा समीक्षाले अग्रता दोब्बर पारिन् । मिनाको चलाखीपूर्ण पासमा समीक्षाले डिबक्स बाहिरबाट सशक्त प्रहार मार्फत् बल गोलपोस्टमा छिराएकी हुन् ।
तेस्रो गोलमा पनि मिनाको संलग्नता रह्यो । मिनाले १२ औँ मिनेटमा रिबाउन्डमा गोल गरी स्कोर ३–० पारिन् । सुक्रियाले पेनाल्टी बक्ससम्म बल अगाडि बढाउादै प्हार गरेको बल भुटानकी गोलकिपर पेमा याङजोमले विफल पारेपनि बल मिनाको खुट्टामा पुगेको थियो ।
त्यसैगरि पूर्णिमाले लगातार तीन गोल गरिन् । खेलको २३औं मिनेटमा मिनाले मिलाइ दिएको पासमा पूर्णिमाले सहज ढङगले गोल गरिने । पूवार्धको इन्जुरी समयमा पूर्णिमाले रिबाउन्डमा हेड गोल गरी स्कोर ५–० बनाइन् । इन्जुरी समयकै अन्तिम मिनेटमा पूर्णिमाले व्यक्तिगत तेस्रो गोल गरी आफ्नो ह्याट्रिक पूरा गरिन् ।
खेलको ६३ औँ मिनेटमा सुक्रियाको क्रसमा स्थानापन्न खेलाडी कुसुमले गोल गरी नेपाललाई सात गोलले अगाडि पारिन् । दुई मिनेटपछि सुक्रियाले डिबक्स भित्रबाटै मिलाइ दिएको पासमा मिनाले गोल गरी आफ्नो ह्याट्रिक पूरा गरिन् ।
नेपालको पाँच खेलमा चार जित सहित १२ अङ्क छ । चालू प्रतियोगितामा नेपालको भुटानविरुद्ध यो दोस्रो खेल हो । नेपालले पहिलो खेलमा भुटानलाई ६–१ ले हराएको थियो । नेपालले श्रीलङ्कालाई पनि दुवै खेलमा ७–० को फराकिलो अन्तरले हराएको थियो । नेपाल घरेलु टिम बङगलादेश सँग भने अन्तिम सकेन्डमा गोल वेहोरेर ३–२ ले स्तब्ध भएको थियो । अब च्याम्पियन बन्न नेपालले अन्तिम खेलमा सोमबार बङगलादेशको सामना गर्नेछ । सोही खेलले च्याम्पियनको छिनोफानो हुनेछ ।




.gif)





