काठमाडौं । रसुवाको गोसाइकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित लेन्दे नदीमा आएको बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान खुलेको छ । बाढीमा बेपत्ता भएका तीनजना प्रहरी, नौजना सर्वसाधारण र ६ जना चिनियाँ नागरिकको पहिचान खुलेको सशस्त्र प्रहरीले जनाएको छ ।
रसुवागढीस्थित नेपाल–चिन अन्तर्राष्ट्रिय सीमा नाकामा चीनतर्फ अविरल वर्षाको कारण लेन्दे नदीमा बाढी आउँदा उनीहरू बेपत्ता भएका हुन् ।बेपत्ता भएका तीनजना प्रहरीमा रसुवामा दरबन्दी भएर इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत थिए । जसमा रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ का प्रहरी सहायक निरिक्षक लालबहादुर श्रेष्ठ, बाराको फेटा गाउँपालिका–१ का प्रहरी जवान मुन्ना ठाकुर र बझाङको बुंगल नगरपालिका–९ का प्रहरी जवान लोकेन्द्र बोहोरा छन् ।
बेपत्ता भएका ६ जना चिनियाँ नागरिकमा यू यी, ली ह्वासिङ, याङ चुआन, यू हैहाङ, यू सिओ क्यु र जोउ योङ छन् । बेपत्ता भएका अन्य नेपाली नागरिकमा बर्दियाका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारू, लक्ष्मीनारायण थारू, सुरेश थारू छन् । यस्तै, बाग्लुङका नरेन्द्र बिक, सिन्धुपाल्चोकका सवारी चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान र हाइलक्स चालक लोकमान तामाङ छन् ।




.gif)





