काठमाडौंः दक्षिण कोरियामा आधारित मल्टिनेसनल कम्पनी एसवाई ग्रुप अफ कम्पनी अन्तर्गतको एसवाई प्यानल नेपालले साधारण शेयर (आईपीओ) ल्याउने तयारी गरेको छ । कम्पनीका निर्देशक विमलराज गोसाइँले कम्पनीले आईपीओका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
चितवनमा उद्योग रहेको एसवाई ग्रुप अन्तर्गत हाल एसवाई प्यानल नेपाल, एसवाई बजार, एसवाई इन्टरप्राइजेज, र एसवाई इन्टरटेन्टमेन्ट प्रालि लगायतका कम्पनीहरू नेपालमा सञ्चालित छन्।
कम्पनीको ब्रान्ड प्रवर्द्धनका लागि एसवाई इन्टरटेनमेन्ट प्रालिको आयोजनामा फेस अफ एसवाई (ब्राण्ड एम्बेसडर हन्ट) प्रतियोगिता सुरु गरिएको कम्पनीले जानकारी दिएको छ । काठमाडौं तीनकुनेस्थित कार्यालयबाट सुरु भएको यो प्रतियोगिता जुन १, २०२५ बाट सुरु भई जनवरी ३१, २०२६ सम्म चल्नेछ ।
प्रतियोगिता चरणबद्ध रुपमा सञ्चालन हुनेछ । पहिलो चरणमा सहभागीले एसवाई थिममा भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेछ । भिडियो पोस्ट गर्दा एसवाई बजार नेपाल र एसवाई कस्मेटिक नेपाललाई ट्याग गर्नुका साथै ह्याशट्याग प्रयोग गर्नुपर्नेछ । पहिलो चरणबाट उत्कृष्ट ५ सय जनालाई छनोट गरिनेछ । उनीहरूलाई दुई हजार रुपैयाँ बराबरको एसवाई बजारको सपिङ भौचर प्रदान गरिनेछ ।
पहिलो चरणबाट उत्कृष्ट १५० जना दोश्रो चरणमा प्रवेश गर्नेछन् । यस चरणमा उत्कृष्ट ५० जनालाई १० हजार रुपैयाँ बराबरको भौचर दिइनेछ । त्यसपछि उत्कृष्ट २५ जना फाइनल चरणका लागि छनोट हुनेछन् ।
फाइनल चरण काठमाडौंमा प्रत्यक्ष अडिसनका माध्यमबाट हुनेछ । फाइनलमा उत्रिने सबै २५ जनालाई तालिम दिइनेछ र विभिन्न परीक्षण चरणहरू हुनेछन् । फाइनल चरणपछि टाइटल विजेता, फस्ट रनरअप र सेकेन्ड रनरअप चयन गरिने कम्पनीले जानकारी दिएको छ ।
टाइटल विजेताले पाँच लाख रुपैयाँ नगद पुरस्कार सहित एक करोड रुपैयाँ बराबरको एक वर्षे ब्रान्ड कन्ट्र्याक्ट पाउनेछन् । फस्ट रनरअपलाई चार लाख नगदसहित ५० लाख बराबरको कन्ट्र्याक्ट दिइनेछ भने सेकेण्ड रनरअपले तीन लाख नगदसहित ३० लाख बराबरको कन्ट्र्याक्ट पाउनेछन् । बाँकी उत्कृष्ट सात जनाले पपुल्यारिटी अवार्ड अन्तर्गत प्रति व्यक्ति डेढ लाख रुपैयाँ पुरस्कार पाउने कम्पनीले जानकारी दिएको छ ।
निर्देशक गोसाइँका अनुसार यो प्रतियोगिता कम्पनीको ब्रान्ड विस्तार र आम जनमानसमा एसवाईको पहिचान विस्तार गर्ने रणनीतिक कार्यक्रम हो । उनले सहभागी हुन निःशुल्क रहेको र विजेतालाई ठूलो अवसर र पुरस्कार प्रदान गरिने जानकारी गराए ।




.gif)





