काठमाडौँः त्रिदेशीय टि२० अन्तर्राष्ट्रिय क्रिकेट शङ्खलामा नेपालले बिहिबार नेदरल्यान्ड्सलाई छ विकेटले पराजित गरेको छ ।
स्कटल्यान्डको ग्लास्गोमा भएको खेलमा पहिले ब्याटङ गरेको नेदरल्यान्ड्सले निर्धारीत २० ओभरमा १७५ रनको चुनौतीपूर्ण स्कोर तयार पारेको थियो । नेपालले दुई बल बाँकी छँदा चार विकेटको क्षतिमा १८० रन बनाएर लक्ष्य हासिल गर्यो ।
यस नतिजा पछि नेपाल तीन खेलमा दुई जित सहित अङ्क तािलकाको शीर्ष स्थानमा उक्लेको छ । नेदरल्यान्ड्स चार खेलबाट चार अङ्क सहित दोस्रो स्थानमा छ । घरेलु टिम स्कटल्यान्डले तीन खेलबाट दुई अङ्क बनाएको छ । अब स्कटल्यान्ड र नेपाल बिचको खेलले च्याम्पियनको छिनोफानो गर्नेछ । तीन देश बिच डबल राउण्ड रोबिन लिग पछि शीर्ष टोली च्याम्पियन बन्ने प्रावधान रहेको छ ।
प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले ५१ बलमा ६५ रनको शानदार पाली खेले पछि पनि नेपालको जित सम्भव भयो । अर्का प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखलाई सात रनमा गुमाए पछि कुशल करीब १६ ओभरसम्म क्रिजमा टिकेर नेपाललाई जित नजिक पुर्याए ।
यसबिच टि२० क्रिकेटमा पदार्पण गरेका भीम सार्कीले १६ बलमा २७, कप्तान रोहित पौडेलले सात बलमा पाँच रन बनाएका थिए । कुशल आउट भएपछि आरिफ शेख र दिपेन्द्र सिंहले नेपाललाई जितसम्म लगे । आरिफ २३ बलमा ३९ रन बनाएपछि रिटायर्ड हर्ट आउट भए । उनको स्थानमा क्रिजमा आएका लोकेश बमले आफूले सामना गरेको पहिलो बलमै छक्का प्रहार गरेर स्कोर बराबर गरेका थिए । त्यसपछि अन्तिम ओभरको चौथो बलमा अर्को छक्का प्रहार गरेर नेपाललाई शानदार जित दिलाए ।
दिपेन्द्र १२ बलमा अविजित १६ रन बनाएर सहयोगीको भूमिकामा रहे । लोकेश चार बलमा १२ रनमा अविजित रहे । नेदरल्यान्ड्सका लागि बेन फ्लेचर, आर्यन दत्त, जाह लियो काचेत र रियोल्फ भान डर मर्भीले एक–एक विकेट लिए ।
यसअघि, नेदरल्यान्ड्का लागि प्रारम्भिक ब्याट्सम्यान माइकल लेविटले ५३ बलमा छ चौका र पाँच चौका सहित ८६ रनको शानदार पालि खेलेका थिए । उनलाई करण केसीले आउट गरेर शतक बनाउनबाट वञ्चित पारे । लेविट खेलपछि म्यान अफ दि म्याच बने ।
नेपालका लागि करणले दुई तथा सन्दीप लामिछाने, रुपेस सिंह, ललित नारायण राजवंशी, दीपेन्द्रले एक–एक विकेट लिए ।




.gif)





