images

२०८३ आश्विन २२ गते

images
images
images

मन्त्रालयसमक्ष १७ अस्पतालले बुझाए रिपोर्ट कार्ड

मन्त्रालयसमक्ष १७ अस्पतालले बुझाए रिपोर्ट कार्ड

images
images
मंगलवार, श्रावण २९ २०८१
मंगलवार, श्रावण २९ २०८१
  • काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसमक्ष १७ वटा अस्पतालले रिपोर्ट कार्ड बुझाएका छन् । अस्पतालहरूले काम तथा सेवाको विवरणसहितको रिपोर्ट कार्ड आज मन्त्रालयमा बुझाएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।

    images
    images

    मन्त्री प्रदीप पौडेलको ९ बुँदे निर्देशनपछि अस्पतालले रिपोर्ट कार्ड बुझाएको उनले बताए । उनका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँ, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कान्ति अस्पताललगायतले रिपोर्ट कार्ड बुझाएका हुन् । 

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले बिहान ९ बजेदेखि दिउँसो चार बजेसम्म दुई सिफ्टमा सेवा आरम्भ गरेको छ । अस्पतालले स्वास्थ्य बीमाका सेवाग्राहीलाई ९० प्रतिशतभन्दा बढी औषधी आफ्नै फार्मेसीबाट वितरण थालेको जनाएको छ । 

    images
    images

    परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा साधारण बहिरङ्ग सेवा बिहान  ९ देखि ४ बजेसम्म प्रवाह गरिएको छ । अस्पतालले अनलाइन टिकटको सेवा पनि सुरु गरेको अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले जानकारी दिए । 

    रिपोर्टमा राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँले २४ सै घण्टा आकस्मिक शल्यक्रिया सेवा सुरुआत गरेको उल्लेख गरेको छ । अस्पतालले नियमित शल्यक्रियाका लागि भर्ना भएका बिरामीको एक हप्ता र बहिरङ्ग सेवा (ओपिडि)का लागि एक महिनामा पालो आउने व्यवस्था मिलाएको जनाएको छ । 

    मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले एक महिनाभित्र नै शल्यक्रिया गर्ने व्यवस्था मिलाएको जनाएको छ । अनलाइनबाटै प्रयोगशाला रिपोर्ट लिने व्यवस्था पनि अस्पतालले रिपोर्टमा उल्लेख गरेको छ । 

    साथै कान्ति बाल अस्पताल महाराजगञ्जमा आकस्मिक बाल उपचारका लागि ६ शय्या तथा निगरानीकाका लागि २० शय्या थपको प्रक्रिया आरम्भ भएको छ । अस्पतालमा भीड व्यवस्थापनका लागि ‘टोकन’ प्रणाली थप व्यवस्थित बनाइएको अस्पतालको भनाइ छ । 

    पाटन स्वाथ्य विज्ञान प्रतिष्ठानले भीड व्यवस्थापनका लागि साधारण र शुल्क क्लिनिक प्रणाली व्यवस्थापन गरेको जनाएको छ । डिजिटल बिल प्रणाली आगामी भदौ १ गतेदेखि सुरु गर्ने र बिदाका दिन पनि ओपीडी र शल्यक्रिया सेवा सुरु गर्ने अस्पतालले उल्लेख गरेको छ । 

    वीरगञ्जको नारायणी अस्पतालले शय्याको समस्या नरहेको बताएको छ । अस्पतालले भीड व्यवस्थापनका लागि टोकन प्रणाली र अनलाइन टिकटको व्यवस्थापन गरिएको जनाएको छ । 

    बीपी कोइराला मेमोरिल क्यान्सर अस्पताल चितवन, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा, जीपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ, वीर अस्पताललगायतले पनि भीड व्यवस्थापन, सरसफाइलगायतमा उल्लेखनीय सुधार गरेको जनाएका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend