काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर आजै नियुक्ति हुने सम्भावनासहितका खबरहरु बाहिरिएपछि शेयर लगानीकर्ताहरु हौसिएका छन् । गभर्नर नियुक्तिको बिषयलाई शेयर बजारका खेलाडिहरुले बजारको उतारचढाबको हतियार बनाउँदै आएका थिए । बजार खुलेको मध्यान्तरसम्म सामान्य अवस्था रहेको नेप्से गभर्नर नियुक्तिका खबरहरु आउन थालेपछि तिब्र रुपमा बढ्न थालेको हो । पछिल्लो डेढ घण्टामा सकारात्मक लय समातेको नेप्से ५३ अंक माथि उक्लिएर बन्द भएको छ ।
राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि आजै सिफारिस समितिको बैठक बोलाइएको छ भने त्यसपछि मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको छलफलपछि सिफारिस समितिको बैठक बोलाइएको हो । सिफारिस समितिको बैठक सकिएपछि बस्ने मन्त्रिपरिषदको बैठकले गभर्नर नियुक्त गर्ने उच्च सम्भावना रहेको छ ।
देउवाले गभर्नरका लागि योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेललाई प्रस्ताव गरेका छन्। आज उनको नाममा छलफल गरेर सम्भवत आजै सिफारिस गर्ने योजना छ । चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर पद रिक्त छ । डेपुटी गभर्नर नीलम ढुंगानालाई अर्थमन्त्री पौडेलले कायममुकायम गभर्नरको जिम्मेवारी दिएका थिए।मंगलबार नेप्से परिसूचक ५३ अंक बढेर २६८१.३६ विन्दुमा पुगेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ। सोमबार ७ अर्ब ३५ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ७ अर्ब ३१ करोड २७ लाख ९० हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.६८ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, वित्त, जलविद्युत र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन राप्ती हाइड्रो एण्ड कन्स्ट्रक्सन कम्पनी र ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। बाराही हाइड्रोपावर पब्लिकको शेयरमूल्य सर्वाधिक ७.३९ प्रतिशत घटेको छ।कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४१ करोड ८० लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।




.gif)





