कास्की । नजिकिँदै गरेका चाडपर्वहरूलाई मध्यनजर गर्दै कास्की प्रहरीले पोखरा भित्रिने मुख्य नाकाहरूमा सुरक्षा व्यवस्था मजबुत बनाएको छ।आपराधिक गतिविधि नियन्त्रण गर्न र लागुऔषध ओसारपसार रोक्ने उद्देश्यका साथ प्रहरीले तालिमप्राप्त कुकुरसहित आकस्मिक जाँचलाई तीव्र बनाएको हो ।पोखरा अन्य जिल्लाहरूसँग जोड्ने प्रमुख ट्रान्जिटका रूपमा रहेको हुनाले चाडबाडको मौका छोपी हुन सक्ने गैरकानुनी गतिविधि रोक्न प्रहरीले उच्च सतर्कता अपनाएको छ। यसै सिलसिलामा पोखरा महानगरपालिका–२५ हेम्जास्थित सुइखेतमा विशेष सुरक्षा जाँच गरिएको छ।
जाँच अभियानमा गण्डकी प्रदेश प्रहरी कार्यालयको समन्वयमा लागुऔषध र विस्फोटक पदार्थ पत्ता लगाउन सक्ने विशेष तालिमप्राप्त कुकुरहरूको प्रयोग गरिएको छ। यात्रुहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र कुनै पनि आपराधिक घटना हुन नदिन यो अभियान सञ्चालन गरिएको कास्की प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वीरेन्द्र पासवानले बताएका छन्।जनपद प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोली परिचालन गरी पोखराका विभिन्न संवेदनशील क्षेत्रमा यस्तो जाँच भइरहेको छ। चाडपर्वको अवधिभर यो आकस्मिक सुरक्षा अभियानलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ। नागरिकलाई निर्धक्क भई यात्रा गर्न र सुरक्षा निकायलाई सहयोग पुर्याउन प्रहरीले आग्रह गरेको छ।




.gif)



