images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • त्रिवि उपकुलपति बरालको राजीनामा कुलपति ओलीले...

त्रिवि उपकुलपति बरालको राजीनामा कुलपति ओलीले गरे स्वीकृत

त्रिवि उपकुलपति बरालको राजीनामा कुलपति ओलीले गरे स्वीकृत

images
images
बिहिवार, चैत्र २८ २०८१
बिहिवार, चैत्र २८ २०८१
  • काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालय(त्रिवि) का उपकुलपति प्राध्यापक केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री एवं त्रिविका कुलपति केपी शर्मा ओलीले बिहीबार उपकुलपति बरालको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । राजीनामा बुझाएको १२ दिनपछि बरालको राजीनामा स्वीकृत भएको हो । प्रधानमन्त्रीको हस्तक्षेप र सरकारको असहयोगका कारण बराललाई राजीनामा दिन बाध्य पारिएको उनी निकटस्थ प्राध्यापक बताउँछन् । बरालले भने काम गर्ने वातावरण नभएकाले पद त्याग गरेको जनाउँदै विस्तृत कारण राजीनामाको टुंगो लागेपछि खुलाउने बताउँदै आएका छन् ।

    images
    images

    बरालले नियुक्तिकै बेलादेखि जागिर खान मात्र उपकुलपति नभएकाले काम गर्न नसक्ने वातावरण भए पद छाड्ने बताउँदै आएका थिए । उपकुलपति बन्न सरकारलाई पेस गरेको योजना र सोचपत्र कार्यान्वयन गरेर छाड्ने उनको प्रतिबद्धता थियो ।प्रधानमन्त्री ओलीका साथै सत्तारूढ एमाले र उसको भ्रातृ संगठनको हस्तक्षेप र असहयोगले उपकुलपति राजीनामा गर्न बाध्य भएको जानकार टिप्पणी गर्छन् । यद्यपि बरालले स्वास्थ्यको कारण उल्लेख गर्दै चैत १५ मा कुलपति कार्यालयमा सचिवालयका कर्मचारीमार्फत राजीनामा पत्र दर्ता गराएका थिए । राजीनामा स्वीकृत/अस्वीकृत गर्ने विषयमा कुनै पनि निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

    त्रिवि ऐनमा उपकुलपति नभए रेक्टरलाई ३ महिनाका लागि निमित्तको जिम्मेवारी दिन सकिने र उक्त अवधिमा सिफारिस समिति गठन गरी उपकुलपति चयन र नियुक्तिको प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था छ । यी कुनै पनि प्रक्रिया थालनी नहुँदा विश्वविद्यालय नेतृत्वविहीन हुनका साथसाथै शैक्षिक तथा प्रशासनिक अन्योल छाएको प्राध्यापकहरू बताउँछन् ।

    images
    images

    बराल २०८० फागुन १० मा उपकुलपति नियुक्ति भएका थिए । उनलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले उपकुलपति नियुक्त गरेका हुन् । गत असारमा ओली प्रधानमन्त्री भएदेखि नै बरालसँगको सम्बन्ध चिसिएको त्रिवि सभाका एक प्राध्यापकले बताए । त्यसो त दाहाल नेतृत्वको सत्ता गठबन्धनमा रहेको एमालेका अध्यक्ष ओली २०८० चैतदेखि नै बरालसँग असन्तुष्ट थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend