images

२०८३ आश्विन १७ गते

images
images
images

ललितपुर र भक्तपुरमा जग्गाको मूल्य बढयो

ललितपुर र भक्तपुरमा जग्गाको मूल्य बढयो

images
images
आइतवार, चैत्र २४ २०८१
आइतवार, चैत्र २४ २०८१
  • काठमाडौंः विगत एक वर्ष यता देशभरिमा ललितपुर र भक्तपुरमा मात्र जग्गाको मूल्य बढेको पाइएको छ। अन्य जिल्लाहरूमा भने जग्गाको मूल्य बढेको पाइएन। धेरैजसो जिल्लामा जग्गाको मूल्य भने स्थिर छ। कुनैकुनै जिल्लामा घटेको पनि पाइएको छ । मूल्य नबढे पनि सबैभन्दा बढी जग्गाको कारोबार भने झापामा भएको पाइएको छ भने सबैभन्दा कम कारोबार मनाङ, डोल्पा र हुम्लामा भएको देखिएको छ।

    images
    images

    भूमि व्यवस्थापन विभागका प्रवक्ता वेदप्रसाद अर्यालका अनुसार हाल देशभरि सञ्चालनमा रहेको एक सय ३४ वटा मालपोत कार्यालय मध्ये गत साउनदेखि फागुन महिनासम्म संकलन भएको राजस्वको आधारमा विभागका प्राविधिक कर्मचारीहरूले गरेको विश्लेषणमा ललितपुर र भक्तपुरमा मात्रै जग्गाको मूल्य बढेको पाइएको हो। अन्य जिल्लामा भने कारोबार बढे पनि मूल्य बढेको देखिएन।

    ‘राजस्व संकलनको आधारमा हेर्दा सबैभन्दा बढी राजस्व काठमाडौंबाट उठेको देखिन्छ। काठमाडौंमा तुलनात्मक रूपमा अन्य जिल्ला भन्दा मूल्य बढी भएका घर र जग्गाको कारोबार हुने भएकाले स्वाभाविक रूपमा काठमाडौंमा राजस्व बढी उठ्छ’ वेदप्रसाद अर्यालले भने, ‘तर जग्गाको मूल्य बढेको विषयमा भने ललितपुर र भक्तपुरलाई मान्न सकिन्छ। यी दुई जिल्लामा ठूला प्लटिङमा मूल्य बढेको देखिएन तर साना साना टुक्रा जग्गामा मूल्य बढेको देखियो।’

    images
    images

    ललितपुर र भक्तपुरमा केही थोरै अनुपातमा मूल्य बढेको उनको विश्लेषण छ। ललितपुर र भक्तपुरमा स–साना टुक्रा जग्गा किन्ने प्रवृत्तिले ती दुई जिल्लामा मूल्य बढेको हुन सक्ने वेदप्रसाद अर्यालअर्यालले बताएका छन्।

    विभागले उपलब्ध गराएको तथ्यांक अनुसार गत साउन देखि फागुन सम्म सबैभन्दा बढी ललितपुरको लगनखेल मालपोत कार्यालयबाट राजस्व उठेको छ। ललितपुरमा दुई वटा मालपोत कार्यालय छन् । लगनखेलबाट दुई अर्ब ६५ करोड ३४ हजार ७९ रूपैयाँ उठेको छ भने ललितपुरकै गोटीखोलाबाट ३९ लाख २० हजार ६ सय ५३ रूपैयाँ उठेको छ।

    काठमाडौंमा ६ वटा मालपोत कार्यालय सञ्चालनमा छन्। जस मध्ये डिल्लीबजारबाट एक अर्ब ९७ करोड २७ लाख ६९ हजार पाँच सय नौ, कलकींबाट एक अर्ब ८१ करोड ७३ लाख नौ हजार पाँच सय नौ, चाबहिलबाट एक अर्ब ७९ करोड ९३ लाख ४५ हजार सात सय ६२, साँखुबाट ६६ करोड ६८ लाख ५३ हजार ६ सय ३७, मनमैजुबाट ५७ करोड ६२ लाख ४६ हजार ६ सय ५१ तथा टोखाबाट ४७ करोड ५२ लाख ३१ हजार पाँच सय २६ रूपैयाँ राजस्व उठेको छ।

    सबैभन्दा कम राजस्व गोरखाको सिर्दिबास मालपोत कार्यालयमा उठेको देखिन्छ। सिर्दिबासमा पछिल्लो आठ महिनामा सात लाख २९ हजार आठ सय ७९ रूपैयाँ मात्र उठेको छ तर गोरखाकै गोरखा मालपोत कार्यालयबाट ५४ करोड ७७ लाख ६ हजार चार सय ३० रूपैयाँ उठेको देखिन्छ।

    मालपोत कार्यालय खोटाङ र मालपोत कार्यालय डोल्पामा पनि निकै कम राजस्व उठेको छ। खोटाङबाट नौ लाख ८४ हजार दुई सय ८७ तथा डोल्पाबाट तीन लाख ८५ हजार चार हजार नौ सय ८४ रूपैयाँ उठेको छ।

    विभागले उपलब्ध गराएको तथ्यांक अनुसार गत साउन देखि फागुन महिना सम्म सबैभन्दा बढी कारोबार झद्रपुर झापा मालपोत कार्यालयमा भएको पाइएको छ। उक्त मालपोत कार्यालयमा पछिल्लो आठ महिनामा ५१ हजार आठ सय ३२ वटा कारोबार भएको छ। दोस्रोमा सुनसरीको इनरुवा मालपोत कार्यालयमा भएको छ।

    उक्त मालपोत कार्यालयमा ३२ हजार सात सय २२ वटा कारोबार भएको छ। यसैगरी तेस्रोमा मोरङको बेलवारीमा भएको छ। उक्त मालपोत कार्यालयमा २८ हजार आठ सय ३८ वटा कारोबार भएको छ। लगनखेल ललितपुर र भक्तपुर मालपोत कार्यालयमा भने पछिल्लो आठ महिनामा २३ हजार सात सय ५९ र २४ हजार २९ वटा भएको देखिएको छ। अन्य जिल्लाबाट बसाइ सराइ गरेर आउने प्रवृत्तिले झापामा जग्गाको कारोबार बढेको हुन सक्ने अनुमान विभागका प्राविधिक कर्मचारीहरूले गरेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend