images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • बाँकेमा किसान स्ट्रबेरीखेतीतर्फ आकर्षित, अढाइ महिनामा...

बाँकेमा किसान स्ट्रबेरीखेतीतर्फ आकर्षित, अढाइ महिनामा ५ लाख आम्दानी

बाँकेमा किसान स्ट्रबेरीखेतीतर्फ आकर्षित, अढाइ महिनामा ५ लाख आम्दानी

images
images
शुक्रवार, चैत्र २२ २०८१
शुक्रवार, चैत्र २२ २०८१
  • कोहलपुर (बाँके) ।बाँकेको बैजनाथ गाउँपालिका–१ च्यामाका सर्पराज बस्नेत स्ट्रबेरीखेतीतर्फ आकर्षित भएका छन् । पश्चिम नेपालका केही ठाउँमा किसानले स्ट्रबेरीको खेती गर्न थाले पनि बाँकेका लागि भने यो पहिलो हो । कृषिमा केही नयाँ गर्ने सोचका साथ उनले बैजनाथमा करिब साढे पाँच कट्ठा जग्गामा सात लाखको लगानीमा स्ट्रबेरी खेती सुरु गरेका छन् ।

    images
    images

    स्ट्रबेरी निकै रुचाइएको फलफूलमा पर्दछ । बजारमा यसको माग बढिरहेको छ । ‎स्वास्थ्यलाई ध्यानमा राख्दै सर्पराजले रसायनरहित जैविक र आधुनिक प्रविधिबाट स्ट्रबेरी लगाएका छन् । रासायनिक मलको ठाउँमा गोठे मल, झोल मल, तितेपाती, निमको पात र गाईको पिसाब प्रयोग गर्दै आएको उनले बताए । 

    उनले भने, “बिरुवामा किरा लागे वा फल नाश हुन लागेमा घरमै उपलब्ध झारपातको प्रयोग गर्ने गरेको छु, जसले गर्दा स्ट्रबेरी स्वादिलो, गुणस्तरीय र स्वस्थ पनि हुन्छ ।” सामान्यतया नेपाली समयअनुसार असोजमा स्ट्रबेरीको बिरुवा रोप्ने गरिन्छ भने ७५ देखि ८० दिनमा यो बिक्रीका लागि तयार भइसकेको हुन्छ । सर्पराजले यसपटक दुई महिना ढिलोगरी मङ्सिर १ गते आसपास बिरुवा रोपेका थिए । 

    images
    images

    बिरुवा रोप्नमा ढिलाइ भए पनि बिरुवाले दिनुपर्ने मात्रामा फल दिएको छ । गत माघको अन्तिम सातादेखि उनको स्ट्रबेरी बिक्री हुन सुरु भइसकेको थियो ।उनका अनुसार नयाँ र धेरै प्रचारप्रसार नभएकाले बाहिरबाट त्यति धेरै माग भने आएको छैन । सर्पराजको स्ट्रबेरीको स्वाद कोहलपुर, नेपालगन्जसँगै सुर्खेतसम्म फैलिएको छ । घरबाटै पनि दैनिक २० देखि २५ किलोको हाराहारीमा बिक्री गर्दै आएको उनले बताए ।

    प्रतिबिरुवाले आधा किलोदेखि एक किलोसम्म फल दिन्छ । उनले यो फल खुद्रामा प्रतिकिलो सात सय र थोकमा छ सय प्रतिकिलोमा बिक्री गर्दै आएका छन् । माघदेखि हालसम्म करिब नौ क्विन्टल बिक्री गरिसकेको उनको भनाइ छ । यो अवधिमा करिब पाँच लाख जति आम्दानी भएको छ । उनको फार्ममा अहिले जापानिज क्यामरोज जातका करिब सात हजार ८०० बिरुवाले फल दिइरहेका छन्। “तराई क्षेत्रमा गर्मी दिन प्रतिदिन बढ्दै छ, गर्मी याममा बिरुवा जोगाउन मुस्किल पर्छ”, सर्पराज भने, “अब फल फलाउनुभन्दा पनि बिरुवा कसरी जोगाउने र अर्को वर्षका लागि बिरुवा कसरी तयार गर्ने भन्ने योजनामा छु ।”

    उनका लागि स्ट्रबेरीखेती विल्कुल नयाँ भए पनि मेहनत गरे सफल भइन्छ भन्ने विश्वासले उनले बस्नेत कृषि तथा पशुपन्छी फार्म दर्तागरी खेती सुरु गरे। सुरुमा उनलाई धेरै जनाले यो खेती सफल नहुने भन्दै मनोबल घटाउने कोसिस पनि नगरेका होइनन् । अहिले मेहनतको फल फलाएर देखाउन सफल भएको उनी बताउँछन्। माटो परीक्षण गरी आफ्नो माटोमा सुहाउँदो बिरुवा लगाए कुनै पनि खेती वा व्यवसाय सफल हुने उनको बुझाइ छ ।

    ‎स्ट्रबेरीलाई नेपालीमा भुइँ काफल पनि भन्ने गरिन्छ । प्रशस्त घामको प्रकाश पुग्ने र सिँचाइको सुविधा पुर्‍याउन सकिने ठाउँमा यसको खेती राम्रो हुने गरेको छ । रासस  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend