काठमाडौं । लसुनको आयातमा तत्काल कुनै रोक नलगाएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. मतिना जोशी वैद्यले मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै दुई हप्तादेखि चीनबाट नेपाल भित्रिने लसुनमा रोक लगाएको भन्ने बाहिर आएको विषयमा अहिलेसम्म कुनै पनि निर्णय नभएको दाबी गर्नुभयो ।
प्रवक्ता वैद्यले आयातित वस्तुमा प्रतिबन्ध लगाउने निश्चित विधि र प्रक्रिया हुने भन्दै अहिले बाहिर आएका हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको छ । आयात गर्ने देशबाट (पीआरए पेस्ट रिक्स एनालाइसिस) अनुमति लिएको लसुन आयातमा कुनै समस्या नरहेको उहाँकाे भनाइ छ । आयातित वस्तुहरूबाट देशभित्र खाद्यबालीमा पर्ने प्रभाव, मानव स्वास्थ्यमा पर्ने प्रभाव, जीवजन्तुमा पर्ने प्रभावका विषयमा पूर्ण प्रत्याभूत भएर मात्रै वस्तुहरू भित्रने मापदण्ड रहेको उहाँले बताउनुभयो ।
पछिल्लो समय लसुनको अस्वाभाविक आयात भएको भने कृषि मन्त्रालयले स्वीकार गरेको छ । यसैबीच चालू आर्थिक वर्ष २०८१/८२ को ७ महिनामा नेपालमा ६ अर्ब रुपैयाँभन्दा धेरैकाे लसुन आयात भएको भन्सार विभागको तथ्याङ्क छ । नेपालमा वार्षिक ३९ मेट्रिक टन अर्थात् १ अर्ब रुपैयाँभन्दा कमको लसुन खपत हुने गरेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्याङ्क छ ।
वार्षिक खपतभन्दा ६ गुणा बढी लसुन भित्रिएको अवस्थामा त्यो कहाँ जान्छ भन्ने प्रश्न उठेपछि सरकारले त्यस विषयमा चासो देखाएको छ । ठूलो परिमाणमा लसुन आयात हुनु देशको आन्तरिक खपतका लागि हो वा अन्य कुनै कारण छ भन्ने आशङ्का छ । भन्सार विभागले पनि यसलाई अस्वाभाविक आयात भएको उल्लेख गरेको छ ।अस्वाभाविक रूपमा ठूलो मात्रामा लसुन आयात भए पनि त्यसको भाउ घट्नुपर्नेमा उल्टै आकाशिएको छ । धेरै परिमाणमा आएको लसुनको भाउ सस्तो हुनुपर्ने मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ एवम् सूचना अधिकारी महानन्द जोशी बताउनुहुन्छ ।
कालीमाटी फलफूल तथा तरकारी बजारमा १ किलो चिनियाँ लसुनको भाउ २ सय ७० रुपैयाँ छ । तर उपभोक्ताले बजारमा १ किलो लसुनको ५ सय रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता छ । नेपालमा वार्षिक १२ हजार मेट्रिक टन लसुन उत्पादन हुने गरेको तथ्याङ्क छ । उत्पादन भएको लसुनको भण्डारण गर्ने पूर्वाधार भने छैन ।
वरिष्ठ कृषि अर्थ विज्ञ जोशीले नेपालमा अस्वाभाविक परिमाणमा किन लसुन आयात भइरहेको छ भन्ने थप अनुसन्धानको विषय रहेको बताउनुभयो । ‘मासिक १ अर्ब रुपैयाँको लसुन खपत गर्ने उपभोक्ता नै छैनन्’, उहाँले उज्यालोसँगको कुराकानीमा भन्नुभयो, खपतको ५ देखि ६ गुणा लसुन आयात हुन्छ र त्यो कहाँ जान्छ ?’ ठूलो परिमाणमा लसुन आयात हुँदा पनि भाउ नघट्नुमा आशङ्का रहेको जोशीले बताउनुभयो ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता एवम् सह–सचिव जीतेन्द्र बस्नेतले लसुन सरकारले प्रतिबन्ध लगाएको वस्तु नभएकाले कति परिमाणमा आयात भयो वा निर्यात भयो भन्ने विषयलाई सामान्य रूपमा लिनुपर्ने बताउनुभयो । बजारमा माग र आपूर्तिका आधारमा मूल्य निर्धारण हुने भएकाले यसमा सरकारको खासै भूमिका नरहने उहाँको भनाइ छ ।
कालोबजारी, अवैध निकासी र पैठारी, अस्वाभाविक मूल्यवृद्धि लगायतका विषयमा अनुगमन भइरहेको प्रवक्ता बस्नेतले उल्लेख गर्नुभयाे । मन्त्रालय मातहत रहेको वाणिज्य विभागले बजार अनुगमन गर्ने उहाँले बताउनुभयाे । उपभोक्ताबाट कुनै गुनासो आएको खण्डमा आफूहरू तत्काल बजार अनुगमनमा जाने गरेको उहाँको भनाइ छ ।वाणिज्य, संरक्षण तथा उपभोक्ता संरक्षण विभागका निर्देशक डीकबहादुर कार्कीले यसबारे विभागलाई जानकारी नभएको बताउनुभयो ।




.gif)





