images

२०८३ आश्विन १९ गते

images
images
images

काठमाडौँ महानगरले दियो बालविकास शिक्षकलाई प्रशिक्षण

काठमाडौँ महानगरले दियो बालविकास शिक्षकलाई प्रशिक्षण

images
images
सोमवार, फाल्गुण १९ २०८१
सोमवार, फाल्गुण १९ २०८१
  • काठमाडौँ । प्रारम्भिक बालविकास शिक्षक तथा प्रशिक्षकका लागि काठमाडौँ महानगरपालिकाद्वारा आयोजित ८ दिनको ‘प्रशिक्षक प्रशिक्षण’ कार्यक्रम सम्पन्न भएको छ। युनिसेफ नेपाल र सेतोगुराँस राष्ट्रिय बालविकास सेवासँगको सहकार्यमा सम्पन्न उक्त प्रशिक्षणमा १५ जना बालविकास शिक्षक र १५ जना प्रशिक्षक सहभागी भएका थिए।

    images
    images

    नेपाल सरकार, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तर्जुमा गरेको प्रारम्भिक सिकाइ तथा विकास मापदण्डमा आधारित निर्माणात्मक मूल्याङ्कनसम्बन्धी यो प्रशिक्षणले बालविकास केन्द्र र ५ वर्ष उमेर समूहका बालबालिकामा आवश्यक पर्ने सर्वाङ्गीण विकास सुनिश्चित गर्न विशेष ध्यान दिएको थियो।

    प्रशिक्षणका मुख्य विषयहरू

    images
    images

    प्रशिक्षणमा प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम २०७७, विषयवस्तु छनोट र योजना, दैनिक कार्यतालिका, प्रारम्भिक बालविकास केन्द्रको न्यूनतम मापदण्ड, प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड जस्ता विषय समेटिएका थिए। सहभागीहरूले शारीरिक, संवेगात्मक, सामाजिक, सांस्कृतिक, बौद्धिक तथा भाषिक विकासका पक्षहरू सम्बन्धित क्रियाकलापमा दैनिक कार्यतालिकामा आधारित रहेर अभ्यास गरेका थिए।

    महानगरपालिकाको प्रतिबद्धता

    सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले महानगरपालिकाले प्रारम्भिक बालविकास केन्द्रित ‘च्याम्पियन शिक्षक’ उत्पादन गर्न लागेको बताए। ‘सानो सीपले मात्र काम गर्दैन, बालबालिकाको रुचि बुझेर उनीहरूलाई केन्द्रको वातावरणमा घुलमिल गराउन सक्ने क्षमता भएका शिक्षक उत्पादन गर्न महानगरपालिकाले लगानी गरेको छ,’उनले भने।

    महानगरपालिकाले ‘पूर्वाधार’, ‘शैक्षिक सामग्री’, ‘मानव पुँजी विकास’, र ‘सुशासन, व्यवस्थापन तथा दिगोपना’मा लगानी बढाएको बताउँदै झाले महानगरका ८१ सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयका प्रारम्भिक बालविकास केन्द्रलाई समान मापदण्डमा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए।

    अनुगमन र प्रभावकारी कार्यान्वयनको आवश्यकता

    शिक्षा विभागका निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीका अनुसार शिक्षकहरूलाई आवश्यक ज्ञान र सूचना छ तर यसको प्रयोग भएको छ कि छैन भन्ने मुख्य सवाल हो। ‘यसको अनुगमन महानगरपालिकाले गर्नेछ,’ उनले भने।

    युनिसेफ नेपालका प्रारम्भिक बालविकास विशेषज्ञ डा.दिपु शाक्यले महानगरपालिकाले प्रारम्भिक बाल स्याहार र प्रारम्भिक बाल शिक्षा तथा विकासलाई फरक रूपमा हेरेर महत्वपूर्ण प्रणाली स्थापित गरेको बताइन्। ‘काठमाडौँ संघीय नेपालको केन्द्रीय राजधानी भएकाले यहाँका अभ्यास र सिकाइ अन्य स्थानीय तहका लागि अनुकरणीय बन्न सक्छन्,’ उनले भनिन्।

    शिक्षकहरूको धारणा

    प्रशिक्षणमा सहभागी शिक्षकहरूले विद्यालयमा सिकेका कुरा कार्यान्वयन गराउन अन्य सरोकारवालाहरूको पनि प्रशिक्षण आवश्यक पर्ने बताए। ‘अहिले बुझ्दा त हामीले साना बालबालिकालाई अनावश्यक रूपमा दण्डित गरिरहेका रहेछौँ भन्ने लाग्यो। यूकेजी, एलकेजी भनिरहेका छौँ, तर यो त अनावश्यक संरचना रहेछ,’ सहभागीहरूले साझा धारणा राखे।

    शिक्षकहरूले अभिभावकहरूलाई पनि सचेत गराउने कार्यक्रम आवश्यक रहेको बताए। ‘कोही गृहकार्य कम छ भन्छन्, कोही धेरै छ भन्छन्। यसलाई सन्तुलित बनाउन अभिभावक शिक्षा आवश्यक छ,’ उनीहरूले बताए।

    बालविकासको दीर्घकालीन योजना

    महानगरपालिकाले ४ वर्षभन्दा कम उमेरका बालबालिकालाई प्रारम्भिक बाल स्याहार तथा विकास (ECCDC), ५ वर्षका बालबालिकालाई प्रारम्भिक बाल शिक्षा तथा विकास (ECED) र कक्षा १ देखि ३ सम्मका बालबालिकालाई बालमैत्री शिक्षा दिने नीति अनुरूप काम गरिरहेको छ। यस अवधारणाको सुरुवात गर्भावस्थादेखि नै हुने र ८ वर्षसम्मका बालबालिकाको समग्र विकासमा ध्यान दिने नीति रहेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend