images

२०८३ आश्विन १९ गते

images
images
images

फागुन १६ र १७ गते कामपाको शैक्षिक मेला, ३० रुपैयाँमा खाजा खुवाउने

फागुन १६ र १७ गते कामपाको शैक्षिक मेला, ३० रुपैयाँमा खाजा खुवाउने

images
images
बिहिवार, फाल्गुण १५ २०८१
बिहिवार, फाल्गुण १५ २०८१
  • काठमाडौं। काठमाडौं महानगरपालिकाले फागुन १६ र १७ गते प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृह परिसरमा ‘काठमाडौं शैक्षिक मेला २०८१’ गर्ने भएको छ । सामुदायिक विद्यालयबाट विभिन्न कार्यक्रमको नतिजा देखाउनको लागि २ दिने मेला गर्ने भएको बिहीबार महानगरमा आयोजित पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ। 

    images
    images

    विद्यार्थीहरूमा परेको प्रभाव, यसबाट उनीहरूले सिकेका ज्ञान र सिपहरूको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गरिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । 

    मेला आयोजनाका लागि महानगरपालिकाको सहरी योजना आयोग, शिक्षा विभाग, स्रोत शिक्षक, प्रधानाध्यापक र शिक्षकहरूले सहजीकरण गर्ने मेलामा प्रस्तुति र प्रदर्शनीको मुख्य भूमिकामा विद्यार्थीहरू नै हुने मानन्धरले जानकारी दिए । शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा स्वदेशी एवं विदेशी पाहुनाकालाई अवलोकनका लागि निमन्त्रणा गरिएको मानन्धरले जानकारी दिए । 

    images
    images

    ‘बुक फ्री फ्राइडेअन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्फत रुचि र नतिजा प्रदर्शन गर्नेछन्’, मानन्धरले भने, ‘मेलामा सामुदायिक विद्यालयहरूले दिवा खाजाका रूपमा ३० रुपैयाँमा उपलब्ध गराउने खाजा १० वटा स्टलबाट सबैलाई ३० रुपैयाँमा नै उपलब्ध गराइनेछ ।’यस्तै नेपाल भाषा, मौलिक संस्कृति, भेषभूषा झल्काउने प्रदर्शनी, मौलिक बादन तथा गायन प्रस्तुति समावेश गरिएको आयोजकले जनाएको छ । 

    विद्यार्थी नमूना संसद अभ्यास, विद्यालय शिक्षा सुधारसम्बन्धी छलफल, बुक फ्री फ्राइडेको बावा उपसमूहअन्तर्गत मरुहिटी पानीको गुण जाँच तथा प्रविधिमार्फत सिकाइको प्रदर्शनी, विद्यार्थीका अनुभूति कोरिएका १ हजार बढी स्केचिङ र स्कल्प्चरको नमूना प्रदर्शनी, टिचर कलेज प्रोग्रामसम्बन्धी गतिविधि तथा नतिजा सुधारका असल अभ्यासको आदानप्रदान, महानगरपालिकाका शैक्षिक गतिविधिको जानकारीका लागि सूचना केन्द्र मेलाका आकर्षण हुने मानन्धरले सम्मेलनमा जानकारी दिएका छन् । 

    कार्यक्रमका ३ चरणमध्ये फेस्ट पहिलो चरणको कार्यक्रम र दोस्रो चरणमा चालु शैक्षिक सत्रको अन्तिम बुक फ्री फ्राइडेका दिन (२०८१ फागुन २३ गते) साझेदार र सरोकारवालाले आफू नजिकको सामुदायिक विद्यालयका कार्यक्रम अवलोकन गराउने योजना रहेको मानन्धरले बताए । तेस्रो चरणमा शैक्षिक क्रियाकलापका नविनतम आयामका विषयमा पृष्ठपोषण लिन गोलमेच अन्तरक्रिया आयोजना गरिने मानन्धरले बताए । 

    महानगरभित्र ८७ वटा सामुदायिक विद्यालयमा ६१ हजार ३२९ जना विद्यार्थी र ५२४ वटा संस्थागत विद्यालयमा २ लाख १० हजार ९३४ जना गरी २ लाख ७२ हजार २६३ जना विद्यार्थी अध्ययनरत छन् ।महानगरमा प्रारम्भिक बाल विकास सुधार, पूर्वाधार विस्तार, शिक्षक क्षमता अभिवृद्धि, शैक्षिक सामग्रीको उपलब्धता र उपयोगिता अभिवृद्धि, शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग, बुक फ्री फ्राइडे (एकीकृत सिकाइ, सिर्जनात्मक सिकाइ र शिक्षामा सिप), टिचर कलेज प्रोग्राम, नतिजा सुधार कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । 

    विद्यालयको पूर्वाधार र शैक्षिक वातावरणका लागि बहु वर्षे कार्यक्रमअन्तर्गत महानगर गौरव योजनामा ‘गरी खाने शिक्षा, महानगरपालिकाको इच्छा’ कार्यक्रम कार्यान्वयनमा छ । यस्तै, नियमित र प्राथमिकतामा राखिएको महानगर स्वर्णिम योजनाअन्तर्गत ‘सुन्दर विद्यालय परियोजना’ र ‘रचनात्मक विद्यालय’ कार्यान्वयनमा ल्याइएका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend