काठमाडौंः बुधबार शिवरात्रिको दिन काठमाडौंको पशुपति क्षेत्रमा हुने भीड व्यवस्थापनका लागि ट्राफिक प्रहरीले विभिन्न क्षेत्रमा सवारीसाधन चलाउन निषेध गरेको छ ।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोद घिमिरेले शिवरात्रिमा हुने भीड व्यवस्थापनका लागि पशुपति आसपासमा सवारीसाधन जान रोक लगाइएको जानकारी दिए । पशुपति क्षेत्र विकास कोषले ५ लाख दर्शनार्थीले बुधबार पशुपति दर्शन गर्ने सम्भावना रहेको बताएकाले त्यसको व्यवस्थापनका लागि ती क्षेत्रमा सवारी चलाउन रोक लगाउनु परेको घिमरेले बताए ।
पशुपति क्षेत्र विकास कोष सँगको सहकार्यमा पुरानो वानेश्वरदेखि चावहिल, तिलगंगा देखि कालोपुल सम्मको क्षेत्रबाट सवारी प्रवेशमा कडाइ गरिने ट्राफिक प्रहरीले जनाएको छ । यद्यपि भीड व्यवस्थापन गर्न सम्भव भएसम्म तिलगंगा देखि चावहिल सम्मको चक्रपथ क्षेत्रको आधा भागमा सवारी चल्न दिने तयारी रहेको कोषका प्रवक्ता रेवती रमण अधिकारीले जानकारी दिए।
महानगरीय ट्राफिक महाशाखाका अनुसार शिवरात्रिको दिनमा ट्राफिक व्यवस्थापनका लागि सिनामंगल देखि गौशाला हुँदै चावहिल सम्मको चक्रपथ क्षेत्र प्रभावित हुनेछ । सो क्षेत्रभित्र सवारी व्यवस्थापनको लागि सवारीसाधन प्रवेश निषेध गरिएको छ।
ट्राफिक प्रहरीले पुरानो वानेश्वर, भीमसेन गोला, सिनामंगल हुँदै तिलगंगा सम्मको बाटोबाट सवारी प्रवेश निषेध गरिएको छ । त्यस्तै धोवीखोला तर्फ रातोपुल, कालोपुल, सिफल लगायतका क्षेत्रबाट पनि पशुपति तर्फ जाने सवारीसाधनलाई प्रतिबन्ध लगाइएको ट्राफिक प्रहरीले जनाएको छ । त्यस्तै चावहिल, गौरीघाट लगायत क्षेत्रबाट पनि सवारीलाई पशुपति क्षेत्रभित्र प्रवेश नदिइने ट्राफिक प्रहरीले जनाएको छ ।
सिफल चौर, गुह्येश्वरीपारि, पशुपति क्षेत्र विकास कोषको कार्यालय, भण्डारखाल, अमालकोट, तिलगंगा करिडोर र सुरक्षा निकायका सवारीको लागि महानगरीय प्रहरी वृत्त गौशलामा राख्ने व्यवस्था मिलाइएको छ ।
यस्तै दर्शनार्थी एवम् भक्तजनका सवारी साधनको पार्किङ्ग तिलगङ्गा आँखा अस्पताल अगाडि, सिफलचौर र गुहेश्वरी पारी करिडोर सडकमा मिलाइएको छ । बनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीको ट्याङ्करहरु पार्किङ्ग हुने छन् ।
त्यसैगरी कोषको कार्यालय र सिफलचौरमा पासवाहक सवारी साधन र प्रहरी वृत्त गौशालामा सुरक्षाकर्मीका सवारी साधनलाई पार्किङ व्यवस्था मिलाइएको छ ।
दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने सवारी साधन सञ्चालन गर्न नसक्ने अवस्था आएमा मात्रै गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गको प्रयोग गरी सहज आवागमनको व्यवस्थापन गरिने जनाइएको छ । त्यसका लागि करिडोर सडक र भित्री सडक समेतमा ट्राफिक प्रहरी खटाइने ट्राफिक प्रहरी प्रमुख घिमिरेले बताए ।
सम्भावित सवारी साधन चोरी नियन्त्रण तथा निगरानीका लागि सादा पोसाकसमेतमा ट्राफिक प्रहरी परिचालन गरिएको छ तर आफ्नो सवारी साधनलाई सुरक्षित स्थानमा राख्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
शिवरात्रि पर्वको अवधिभर भक्तजनलाई सरल एवं सहजरूपमा आवागमनको व्यवस्था मिलाउन प्रहरी नायब उपरीक्षकको कमान्डमा कमाण्ड सेन्टर राखी आठ सय ९० जना ट्राफिक प्रहरी प्रत्यक्ष परिचालन गरिएको छ भने आवश्यकता अनुसार ट्राफिक चापलाई मध्यनजर गर्दै थप प्रहरीसमेत खटाइँदै जाने ट्राफिक प्रहरीका प्रवक्ता सञ्जयबहादुर राउतले जानकारी दिए।




.gif)





