काठमाडौं । काठमाडौं मोडेल कलेज र कोरियाका विभिन्न विश्वविद्यालयबीचको सांस्कृतिक आदानप्रदान कार्यक्रम १ फागुनमा सम्पन्न भएको छ । कलेजको सेमिनार हलमा आयोजित उक्त कार्यक्रम काठमाडौं मोडेल कलेज र कोरियाका १९ वटा विश्वविद्यालयबीचको शैक्षिक सहकार्य तथा सांस्कृतिक सम्बन्धलाई सशक्त बनाउन आयोजना गरिएको हो ।
कार्यक्रमको औपचारिक उद्घाटन कलेजका कार्यकारी निर्देशक सह-प्राध्यापक अजयप्रसाद ढकाल, कलेज प्रमुख सुरेन्द्र सुवेदी तथा कोरियन प्रतिनिधिहरूले पानसमा दीप प्रज्वलन गरी गरेका थिए । स्वागत मन्तव्य दिने क्रममा कलेज प्रमुख सुवेदीले यस्तो कार्यक्रमले विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा प्रणाली र अभ्यास बुझ्न मद्दत पुग्ने बताए ।
नम्बु विश्वविद्यालयका प्राध्यापकले नेपाल-कोरिया शैक्षिक साझेदारी र सांस्कृतिक सम्बन्धबारे धारणा राखेका थिए भने काठमाडौं मोडेल कलेजका विद्यार्थी बेबिका अधिकारी र रोबिन्सन भण्डारीले कलेजको शैक्षिक कार्यक्रम तथा विद्यार्थी अनुभवबारे जानकारी गराएका थिए । कोरियन विद्यार्थी हीजु ओहले अन्तर्राष्ट्रिय अनुभवले व्यक्तिगत तथा व्यावसायिक जीवनमा पार्ने प्रभावबारे बोलेकी थिइन् ।
कार्यक्रममा नेपाली तथा कोरियन विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए। साथै, प्रश्नोत्तर कार्यक्रमसमेत आयोजना गरिएको थियो । कोरियाली टोली प्रमुखले काठमाडौं मोडेल कलेजका विद्यार्थीहरू छिट्टै कोरियाका विश्वविद्यालयहरूको भ्रमणका लागि तयारी गरिरहेको जानकारी गराउँदै नेपाल-कोरिया शैक्षिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउन पहल भइरहेको उल्लेख गरे ।
कलेजकाअनुसार यो कार्यक्रम काठमाडौं मोडेल कलेज र कोरियन विश्वविद्यालयहरूबीचको तेस्रो सांस्कृतिक आदानप्रदान कार्यक्रम हो । कार्यक्रममा कलेजका प्राध्यापक, स्टुडेन्ट क्वालिटी सर्कलका सदस्यहरू, क्लब प्रमुखहरू तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।




.gif)





