images

२०८३ आश्विन १९ गते

images
images
images
  • प्रविधि
  • अनलाइन स्क्यामबाट जोगाउन भोलि विश्वभर सुरक्षित...

अनलाइन स्क्यामबाट जोगाउन भोलि विश्वभर सुरक्षित इन्टरनेट दिवस मनाइँदै

अनलाइन स्क्यामबाट जोगाउन भोलि विश्वभर सुरक्षित इन्टरनेट दिवस मनाइँदै

images
images
सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • काठमाडौं । भोलि मङ्गलबारका दिन विश्वका १७० भन्दा बढी मुलुकमा यस वर्षको सुरक्षित इन्टरनेट दिवस मनाइँदैछ । नेपालमा भने बालबालिका र युवाहरूका लागि सुरक्षित, सकारात्मक र जिम्मेवार इन्टरनेट प्रवर्धन गर्न चाइल्डसेफनेटले संयोजन गर्दैछ ।

    images
    images

    हरेक वर्ष सुरक्षित इन्टरनेट दिवसले अनलाइनसँग सम्बन्धित महत्त्वपूर्ण विषयलाई उठान गर्छ, जसले डिजिटल दुनियाँमा युवाहरूले भोग्ने अनुभवलाई प्रतिविम्बित गर्छ । युवाहरूको परामर्शमा तयार पारिएको यस वर्षको अभियान अनलाइन ठगी (scams) मा केन्द्रित छ, जसले युवाहरूलाई आफू र अरूलाई कसरी जोगाउने भन्ने ज्ञान प्रदान गर्न, साथै यस सम्बन्धमा उपलब्ध सहयोगी स्रोतहरूबारे सचेत गराउने उद्देश्य राखेको छ ।

    यस वर्ष सुरक्षित इन्टरनेट दिवसका अवसरमा अनलाइन ठगीको वास्तविक प्रभाव अध्ययन गरिने र युवाहरूले आफ्नो अनुभव तथा समाधानका उपायहरू शेयर गर्ने प्लेटफर्म प्रदान गरिनेछ । यस अभियानले अनलाइन वित्तीय सेक्सटोर्सन (online financial sextortion) जस्ता जोखिमहरूको बारेमा जनचेतना अभिवृद्धि गर्दै भविष्यमा ठगीका स्वरूपहरू कस्ता हुन सक्छन् भन्ने प्रश्नहरूको उत्तर खोज्ने प्रयास गर्नेछ ।

    images
    images

    जेनेरेटिभ एआई जस्ता नयाँ प्रविधिले ठगहरूको तरिकामा कस्तो प्रभाव पार्न सक्छ ? अनलाइन सुरक्षाका लागि सरकार र इन्टरनेट उद्योगले के भूमिका खेल्न सक्छन् ? युवाहरूले आफ्नो अनलाइन सुरक्षाका लागि कस्ता परिवर्तन चाहन्छन् ? भन्ने प्रश्नहरू यसमा समावेश छन् ।यस अभियानले सरकार, नीति निर्माताहरू, कानुनी निकाय, दूरसञ्चार नियामक, प्रविधि कम्पनी, इन्टरनेट सेवा प्रदायक, सञ्चार माध्यम र अन्य जिम्मेवार पक्षहरूलाई बालबालिका तथा युवाहरूका लागि सुरक्षित इन्टरनेट सुनिश्चित गर्न आह्वान गरेको छ । साथै, युवा, अभिभावक, शिक्षक, सामाजिक अभियन्ता, निजी क्षेत्र, विद्यालय तथा समुदायलाई सुरक्षित डिजिटल वातावरण निर्माण गर्न योगदान पुर्‍याउन पनि यसले प्रेरित गर्ने गरेको छ । 

    चाइल्डसेफनेटका संस्थापक  अध्यक्ष अनिल रघुवंशीले बालबालिका तथा युवाहरू अनलाइन ठगी, सेक्सटोर्सन, अनलाइन अन्तरङ्ग सम्बन्धजन्य हिंसा तथा डिपफेक यौन दुरुपयोग जस्ता नयाँ खतराहरूको चपेटामा परिरहेको बताए  । त्यसैले डिजिटल युगमा बालबालिकाको सुरक्षाका लागि सरकार, विद्यालय, अभिभावक तथा प्रविधि कम्पनीहरूले लगानी वृद्धि गर्न जरुरी रहेको उनको भनाई छ ।

     चाइल्डसेफनेट तथा सेक्सुअल भायोलेन्स रिसर्च इनिसियटिभ्स (SVRI) ले नेपालका १० जिल्लाका युवाहरूमा गरेको एक अध्ययनले चारमध्ये एक जना युवाले अनलाइन अन्तरङ्ग सम्बन्धजन्य हिंसा (online IPV) को सामना गर्ने गरेको देखाएको छ । अनलाइन सुरक्षाको लागि अभिभावकको भूमिका महत्त्वपूर्ण रहन्छ । तर, चाइल्डसेफनेटको एक अध्ययन अनुसार, ८५% अभिभावकले आफ्ना बालबालिकासँग अनलाइन सुरक्षाबारे छलफल नै गर्दैनन् । अनलाइन यौन दुर्व्यवहार तथा शोषणबाट कसरी जोगिने भन्ने विषयमा त धेरै कम अभिभावकले मात्र बालबालिकासँग कुरा गर्ने गरेको पाइएको छ ।जेनेरेटिभ एआई प्रविधिको तीव्र विकासले नयाँ चुनौतीहरू जन्माएको छ । अपराधीहरूले बाल यौन दुरुपयोगसम्बन्धी सामग्री उत्पादन गर्न यो प्रविधि दुरुपयोग गरिरहेका छन् । साथै, जेनेरेटिभ एआईको दुरुपयोगबाट गलत सूचना, भ्रामक सूचना र घृणा फैलाउने सामग्री ठुलो मात्रामा र अत्यन्तै छिटो फैलिन सक्छन् ।

    बालबालिका तथा युवाहरूको डिजिटल सुरक्षा सुनिश्चित गर्न, चाइल्डसेफनेटले नेपालका ४० भन्दा बढी जिल्लामा अनलाइन सुरक्षा तालिमहरू सञ्चालन गरिरहेको छ । यस वर्ष संयुक्त राष्ट्र सङ्घका निकायहरू, अन्तर्राष्ट्रिय तथा स्थानीय गैरसरकारी संस्था, समुदाय-आधारित सङ्गठनहरू, निजी क्षेत्र र सञ्चारमाध्यमहरू लगायत ५० भन्दा बढी सङ्घ संस्थाले नेपालमा सुरक्षित इन्टरनेट दिवस प्रवर्धन गर्न चाइल्डसेफनेटसँग ऐक्यबद्धता जनाएका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend