काठमाडौं । पछिल्लो ३ वर्षमा प्रेस काउन्सिल नेपालमा एक हजार ६ सय ६६ अनलाइन सञ्चारमाध्यम सूचीकरण भएका छन् ।नयाँ खुलेका अनलाइनका सम्पादक र सञ्चालकहरुलाई पत्रकार आचारसंहिताको अभिमुखिकरण दिने क्रममा काउन्सिलले उक्त विवरण सार्वजनिक गरेको हो । विभिन्न पृष्ठभूमीबाट सञ्चार क्षेत्रमा प्रवेश गर्नेहरुलाई पत्रकार आचारसंहिताको दृष्टिकोणबाट लिइने यस्ता कक्षा उपयोगी हुने प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताए ।
‘स्वच्छ, मर्यादित, तथ्यपूर्ण र विवादरहित पत्रकारिताका लागि हरेक सञ्चारकर्मीले पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नुपर्छ,’ काउन्सिलमा आयोजित अभिमुखिकरण कार्यक्रममा बोल्दै बस्नेतले भने ।उनले प्रेसले पाएको स्वतन्त्रताको अर्थ जथाभावी अधिकार वा स्वच्छन्दता नभएको प्रसङ्ग ल्याउँदै युट्युवसहित सामाजिक सञ्जाल प्रयोग हुने सबै सञ्चारमाध्यम जिम्मेवार हुनुपर्ने बताए । ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बलियो बनाउन सञ्चारकर्मी स्वंयको हात महत्वपूर्ण हुन्छ । अपूर्ण, मिथ्या, कमजोर र असन्तुलित सूचना सम्प्रेषणले प्रेस जगतलाई नै कमजोर बनाउँछ । यसतर्फ काउन्सिल सचेत भई जिम्मेवारपूर्ण ढंगले काम गर्दै आएको छ । अभिमुखिकरण कक्षा यसैको एउटा श्रृंखला हो,’ उनले भने ।
कार्यक्रममा अग्रज पत्रकार एवं गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराई र काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले विषयवस्तुमाथि सहजीकरण गरेका थिए ।पर्याप्त मेहनतसहित निष्पक्ष ढंगले गरिने पत्रकारिताले नै विश्वसनीयता बढाउने अग्रज पत्रकार भट्टराईको सुझाव थियो । उनले पत्रकार तथा सञ्चारमाध्यमले गर्न नहुने विभिन्न कामको प्रकास पारेका थिए ।
भुसालले काउन्सिलले विभिन्न समयमा जारी गरेका सञ्चार निर्देशिकाहरुमा केन्द्रित रहेर अन्तर्क्रिया गरेका थिए ।२०७८ चैतदेखि नियमित रुपमा सञ्चालन अभिमुखिकरण कक्षा सञ्चालन हुँदै आएको काउन्सिलका शाखा अधिकृत सुवास राईले जानकारी दिए । अनलाइन सञ्चारमाध्यम सञ्चालन हुनु अघि सञ्चालक र सम्पादकलाई अनिवार्य रुपमा अभिमुखिकरणमा सहभागी हुनुपर्ने व्यवस्था काउन्सिलले गरेको छ । पत्रकार आचारसंहिता उल्लंघन गर्ने पत्रकारलाई पनि काउन्सिलले यस्तो कक्षामा सहभागी गराउँदै आएको छ ।




.gif)





