काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्यकारी निर्देशक बन्न ४ जना चिकित्सकले आवेदन परेको छ ।रिक्त रहेको निर्देशकको पदका लागि प्राध्यापक डाक्टर सुबास प्रसाद आचार्य, नरमाया थापा, घनश्याम गुरुङ र सहप्राध्यापक डा. गोपाल सेडाईंले आवेदन दिएको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) डीन कार्यालयले जनाएको छ ।
कार्यालयले प्रतिस्पर्धाको आधारमा कार्यकारी निर्देशक नियुक्तिका लागि दरखास्त आव्हान गरेको थियो । डिन कार्यलयले दरखास्त स्वीकृत गर्दै प्रस्तुतीकरण र अन्तरवार्ताका लागि बोलाएको छ ।डीन कार्यालयको सूचनाअनुसार आउँदो बुधबार ४ जना उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्ता हुनेछ ।त्रिविका सावधिक पदमा नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियमको आधारमा कार्यकारी निर्देशकको नियुक्ति हुने जनाइएको छ । सिफारिस समितिको सिफारिसको आधारमा डीनले निर्देशक गर्ने व्यवस्था छ ।
सोही विनियमअनुसार त्रिवि कार्यकारी परिषद्ले प्राडा मोहनराज शर्मालाई डीन नियुक्त गरेको थियो। प्राडा दिनेश काफ्लेको कार्यकाल पूरा भएपछि निर्देशक नियुक्ति प्रक्रिया थालिएको हो। गुरुङ निमित्त निर्देशकको जिम्मेवारीमा छन् ।त्यस्तै, महाराजगञ्ज चिकित्सा क्याम्पसको प्रमुखका लागि ५ जना प्राडाहरू प्रतिस्पर्धामा हुने भएको छ । डीन कार्यालयका अनुसार क्याम्पस प्रमुखका लागि मिनु चौधरी, योगेन्द्रमान शाक्य, रमेशसिंह भण्डारी, सुरेश उप्रेती र संघरत्न बज्रचार्यको आवेदन परेको छ । उनीहरुको प्रस्तुतीकरण र अन्तरवार्ता डीन कार्यालय महाराजगञ्जमा आगामी माघ २२ गते मंगलबार हुनेछ ।




.gif)





