images

२०८३ आश्विन २० गते

images
images
images

माघे औँसीमा साढे तीन लाख भक्तजनद्वारा त्रिवेणी स्नान

माघे औँसीमा साढे तीन लाख भक्तजनद्वारा त्रिवेणी स्नान

images
images
शुक्रवार, माघ १८ २०८१
शुक्रवार, माघ १८ २०८१
  • नवलपुर (नवलपरासी), १८ माघ । नवलपरासी (बर्दघाट–सुस्तापूर्र्व)को ऐतिहासिक धार्मिकस्थल त्रिवेणीधाममा माघे औँसीमा साढे तीन लाख बढी भक्तजनले स्नान गरेका छन् ।

    images
    images

    हरेक वर्षको माघ कृष्ण औँसीका दिन यहाँ स्नान गरेमा मोक्ष प्राप्त हुने विश्वासका साथ नेपाल र भारतबाट लाखौँ भक्तजन आउने गरेका गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) क्षेत्र विकास समितिले जनाएको छ । स्वर्णभद्रा, पूर्णाभद्रा र नारायणी नदीको सङ्गमस्थल त्रिवेणीधाममा यही माघ १५ गते रातिदेखि माघ १७ गतेसम्म स्नानका लागि भक्तजनको भीड लागेको थियो ।

    तीन नदीको सङ्गमस्थल त्रिवेणीमा स्नान गर्नाले पूण्य मिल्छ र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको गजेन्द्रमोक्ष दिव्यधाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपिन्द्रेश्वर भुसालले बताए । यस धाममा स्नान, दर्शन तथा पूजापाठका लागि आएकामध्ये ७० प्रतिशतभन्दा बढी भारतीय तीर्थयात्री रहेका भुसालको भनाइ छ ।

    images
    images

    नेपालका विभिन्न जिल्लासहित भारतको उत्तरप्रदेश, विहारलगायत क्षेत्रबाट यहाँ आउने धार्मिक पर्यटनको सङ्ख्या अत्यधिक हुने उनले बताए । परापूर्वकालमा गजराज (हात्ती) र गोहीको लडाईं हुँदा भगवान नारायणले अवतार लिएर हात्तीलाई मोक्ष दिलाएको मान्यताअनुसार यस धामलाई गजेन्द्र मोक्ष दिव्यधाम भन्ने गरिएको जनश्रुति छ । बाबुआमा नहुनेले माघे औँसीका दिन त्रिवेणी धाममा स्नानपछि श्राद्ध गर्ने र दान दिने चलन छ ।

    माघे औँसीमा मेला भर्न आउने भक्तजनको सुरक्षा र उनीहरुको सहजताका लागि जिल्ला प्रहरी कार्यालय नवलपुरले त्रिवेणीधाममा ६२ जनाको प्रहरी टोली खटाएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जेसी शाहले बताए । “मेलालाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन हामीले जनपद प्रहरी र ट्राफिक प्रहरी खटाएर नागरिक सहायता कक्षसमेत स्थापाना गरी मजबुत सुरक्षा व्यवस्था मिलाएका थियौँ”, शाहले भने, “नदीमा हुने अप्रिय घटना र उद्धारका लागि सीमा सुरक्षा बल त्रिवेणीबाटसमेत थप २८ जना सुरक्षाकर्मीको टोली खटिएको थियो ।”

    मेलालाई व्यवस्थित बनाउन अस्थायी रुपमा खानेपानी, शौचालय, सडकबत्ती र विभिन्न स्थानमा स्वास्थ्य शिविरको व्यवस्था गरिएको छ । त्रिवेणीधाम क्षेत्र त्रेतायुगमा ऋषि वाल्मीकिले रामायण रचना गरेको र लवकुश जन्मेको स्थलका रुपमा धार्मिक ग्रन्थमा उल्लेख गरिएको वाल्मीकि आश्रमको हरिहर मन्दिरका पुजारी रामशरण गिरीले बताए ।

    त्रेतायुगमा भगवान रामले सीतालाई त्याग गरेपछि लक्ष्मणले यही भूमिमा ल्याएर छाडेको, सीताले वाल्मीकि आश्रममै जीवन बिताएको र पछि सीता पाताल प्रवेश गरेको स्थानका रुपमा पनि यो स्थल रहेको गिरीको भनाइ छ । आश्रम क्षेत्रमा रहेका लवकुश जन्मेको स्थल, सीताले प्रयोग गर्ने सिलौटा, लवकुशले घोडा बाँधेको तबेला, विष्णु चक्र, वाल्मीकि ऋषि अन्तरध्यान भएको स्थल, पचासी हजार ऋषिद्वारा वाल्मीकि ऋषिले हवन गरेको हवनकुण्ड, अमृत कुवा, विष्णु चक्रलगायत रामायणकालीन सामग्री खुला रुपमा देख्न सकिने उनले बताए ।

    यस त्रिवेणीधाममा माघे औँसीसहित विशेषगरी शिवरात्रि, साउनमा बोलबमसहित विभिन्न समयमा भक्तजनको भीड हुने गरेको गिरीको भनाइ छ । प्राचीन त्रेतायुगको हरिहर (शिव र विष्णुको प्रतीक)को मूर्तिसहितका रामायणकालीन संरचना यहाँ रहेका उनले बताए । मानिसले आफूले इच्छ्याएको कुरा माग्नका लागि त्रिवेणीधाम क्षेत्रमा आउने गरेका गिरीको भनाइ छ ।

    महर्षी वाल्मीकिले ब्रह्म ज्ञान प्राप्न गर्नुका साथै यहीँ बसेर रामायण लेखेको स्थानका रुपमा वाल्मीकि आश्रम प्रख्यात रहेको सीता मन्दिरका पुजारी शेखर सुवेदीले बताए । सीता माता वनबास बसेको र लवकुशको जन्म तथा शिक्षादीक्षा भएकाले यस ठाउँको विशेष महत्व रहे पनि यो क्षेत्र ओझेलमा परेको सुवेदीको भनाइ छ । रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend