तम्घास । गुल्मीमा हालसम्म ७१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीका अनुसार यस वर्ष गुल्मीमा ७ हजार नौ सय ८८ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको हो ।
जस अनुसार पाँच हजार ६७१ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको उहाँको भनाइ छ । मध्य असारबाट पानी परेकाले रोपाइँमा किसानलाई चिन्ता नपरेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।
जिल्लामा ८५ हजार ६७० हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन छ । जसमध्ये ३४ हजार ३९५ हेक्टर जमिन सिँचाइ योग्य रहेको कार्यालयले जनाएको छ । जिल्लामा हालसम्म करिब ११ हजार ७२० हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा पुगेको छ । खेती योग्य जमिन पछिल्लो समयमा बाँझिदै जानुमा युवाहरुको विदेश पलायन, गाउँमा वृद्धवृद्धाहरुमात्रै रहनु र बढ्दो बसाइँसराइँको कारण रहेको भण्डारीले बताउनुभयो ।
जिल्लामा उन्नत जातका खुमल–४, खुमल–६, खुमल–१०, मकवानपुर–१, रामधान, लोकतान्त्रिक, हिमाली धान लगाइन्छ । स्थानीय जातका हंसराज, मानोमुरी, हावा, मार्सी, लामी, जडन, जुवा, अनदी, काठे मार्सी जातको धान कृषकहरुले लगाउँदै आएका छन् । त्यस्तै हाइब्रिड अन्तर्गत यु.एस–३१२ र शङ्कर जातको धान लगाउँदै आएका छन । चैते धान अन्तर्गत चन्दीना र सि.एच–४५ जातको धान कृषकहरुले लगाउँदै आएको भण्डारीले जानकारी दिनुभयो ।




.gif)





