काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले यस वर्षको २ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।
माघ ७ गतेदेखि सम्बन्धित शेयरधनीहरुको हितथ्राही खातामा उल्लेख बैंक खातामै नगद लाभांश जम्मा गरिएको जानकारी कम्पनीले दिएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस १५ गते सार्वजनिक विदा परेकाले पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् ।
पुस १४ गतेसम्म कम्पनीको शेयर बन्धक राखी कर्जा लिएका सदस्यहरुको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का राखिएकाले कर्जा फुकुवा भैसकेको भए फुकुवा पत्र पेश गर्न समेत कम्पनीले भनेको छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।नगद लाभांश वितरण गरेको कम्पनीले बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि मात्र वितरण गर्ने जानकारी दिएको छ ।




.gif)





